चिकित्सा शास्त्र स्नातकोत्तर तहमा प्रवेश परीक्षा नहुँदा अध्ययन गर्न तयारी अवस्थामा रहेका आठ हजार चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अन्योलमा परेका छन्।
प्रवेश परीक्षा समयमा हुन नसक्दा कहिले स्नातकोत्तर तहमा अध्ययन गर्ने भन्ने अन्योल देखिएको हो।
गत जेठ महिनामा हुनुपर्ने स्नातकोत्तर तहको प्रवेश परीक्षा हालसम्म नहुँदा शैक्षिक सत्र प्रभावित हुने स्थिति आएको खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्।
चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीले गत जेठ महिनामा चिकित्सा शास्त्र स्नातकोत्तर तहका गत जेठमा हुने परीक्षा कोभिड–१९ का कारण रोकिन पुगेको बताए। कोभिडका कारण रोकिएको परीक्षा चिकित्सा शिक्षा आयोगले गत असोज २७, २८ र २९ गते तय गरेको थियो। तर, विभिन्न चार विषयमा मुद्दा परेपछि अहिले रोकिएको गिरीले बताए।
‘‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ’, गिरीले भने, ‘समयमा चिकित्सा शास्त्र तर्फका स्नातकोत्तर तहको प्रवेश परीक्षा हुन नपाउँदा शैक्षिक सत्रमा असर परेको छ।’
स्नातकोत्तर तहको अध्ययन गर्न डा.प्रकाश बन्जाडेले पनि परीक्षा फाराम भरेका छन्। बन्जाडे यतिखेर माल्दिभ्समा कार्यरत छन्। उनी स्नातकोत्तर तह अध्ययन गर्न फाराम भर्न बन्दाबन्दीको अवस्थामा नेपाल आएका थिए।
परीक्षा अनिश्चित बनेपछि उनी पुनः माल्दिभ्स फर्किएका छन्। कहिले प्रवेश परीक्षा हुन्छ र परीक्षा दिन पाइएला भन्ने चिन्ताले पिरोलिरहेको उनले बताए।

प्रतिक्रिया