स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन सम्मिलित एक विज्ञ टोलीले गरेको सर्वेक्षणले दुई महिनाअघि नै देशको १३ प्रतिशत जनसंख्या संक्रमित भएको देखाएको छ।
सेप्टेम्बर अन्तिम साता गरिएको सर्वेक्षणको प्रतिवेदन विज्ञ टोलीले स्वास्थ्य मन्त्रालयमा बुझाइसकेको छ । तर, उक्त प्रतिवेदन गोप्य राखिएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।
कुल जनसंख्याको कति प्रतिशतमा संक्रमण भयो भन्ने जानकारी प्राप्त गर्न सर्वेक्षण गरिएको थियो । सर्वेक्षण टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा.मेघनाथ धिमालसहित डा. जनक कोइराला, डा.गुणराज लोहनी, डा.सुरेश तिवारी र विश्व स्वास्थ्य संगठनका विज्ञहरू थिए । सर्वेक्षणमा रगतमार्फत एन्टिबडी अध्ययन गरिएको थियो । त्यसयता संक्रमण थप फैलिएकाले यो संख्या अझै बढेको अनुमान मन्त्रालयका अधिकारीहरूको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक अधिकारीका अनुसार हिमाल, पहाड, तराई तीनैक्षेत्रको प्रतिनिधित्व हुने गरी सर्वेक्षण गरिएको थियो । मनाङ र मुस्ताङबाहेक ७५ जिल्लाबाट ६ हजार पाँच सयजनाको नमुना संकलन गरिएको थियो । सर्वेक्षणमा सहभागीहरू ६ महिनादेखि माथिको उमेर समूहका थिए । सहभागीबाट लिइएको रगतको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।
प्रयोगशालाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा आफ्नो रिपोर्ट बुझाइसकेको छ । केही दिनभित्रै मन्त्रालयले रिपोर्ट सार्वजनिक गर्ने महाशाखाका निर्देशक डा। वासुदेव पाण्डे बताउँछन् । मन्त्रालयले सार्वजनिक नगरुन्जेल रिपोर्ट उपलब्ध गराउन नमिल्ने उनको भनाइ छ ।
केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार सेप्टेम्बर अन्तिमसम्म देशको कुल जनसंख्या करिब तीन करोड एक लाख एक सय ३० रहेको प्रक्षेपण थियो । उक्त आँकडालाई आधार मान्दा कुल जनसंख्याको १३ प्रतिशत अर्थात् करिब ३९ लाखजनामा कोरोना संक्रमण भइसकेको अध्ययन प्रतिवेदनको निष्कर्ष छ।
थप अध्ययनपछि मात्र प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा मन्त्रालय देखिन्छ । त्यसअघि प्रतिवेदनमा उल्लेखित आँकडा सार्वजनिक नगर्न मन्त्रालयले निर्देशन दिएको सर्वेक्षणमा सहभागी विज्ञहरू बताउँछन्।

प्रतिक्रिया