छापा खबर


देशव्यापी रुपमा किन भइरहेछ राजावादीको प्रदर्शन?

देशव्यापी रुपमा किन भइरहेछ राजावादीको प्रदर्शन?

नेपालखबर
मंसिर १७, २०७७ बुधबार १:३१,

प्रमुख राजनीतिक दलहरू आन्तरिक विवादमा रुमलिएका बेला लोकतान्त्रिक गणतन्त्रविरुद्ध सडकमा प्रदर्शन हुन थालेको छ।

कोरोना भाइरसको महामारीमा पनि सरकार र राजनीतिक दलको उपस्थिति नदेखिएको भन्दै आम जनता रुष्ट बनेका बेला काठमाडौंसहित देशका विभिन्न ठाउँमा राजसंस्थाको पुनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा प्रदर्शन हुन थालेको खबर आजको नागरिक दैनिकले छापेको छ।

करिब एक महिनादेखि वर्तमान व्यवस्थाविरुद्ध देशव्यापी रूपमा शृंखलाबद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले राजतन्त्र पुनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा नारा लगाउने गरेका छन् । विभिन्न ठाउँमा विभिन्न नामबाट प्रदर्शन हुने गरेको छ । तर प्रदर्शनको नारा र उद्देश्य एउटै छ।

राजावादीले सोमबार काठमाडौंमै प्रदर्शन गरे । उनीहरूले सोमबार दिउँसो काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेका थिए । काठमाडौंको प्रदर्शन राष्ट्रिय शक्ति नेपालको नामबाट भएको थियो । उक्त संस्थाका अध्यक्ष केशरबहादुर विष्ट हुन् । विष्ट शाही कालमा मन्त्री थिए।

सोमबारको प्रदर्शनबाट उत्साहित भएका राजावादीहरूले आगामी मंसिर २० गते पनि काठमाडौंमा कार्यक्रम गर्ने भएका छन् । सो कार्यक्रम ‘नेपालका लागि नेपाली’ नामबाट हुने बताइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दू राष्ट्रका पक्षमा हुने कार्यक्रम तथा ¥यालीमा सक्रिय सहभागी हुन कार्यकर्तालाई उर्दी जारी गरेको छ।

सोमबार काठमाडौंमा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय तथा जिल्ला तहका नेताहरू सहभागी भएका थिए । प्रदर्शनकारीले पृथ्वीनारायण शाहको तस्बिर अंकित प्ले कार्ड र राष्ट्रिय झण्डा बोकेका थिए । उनीहरूले राजा आऊ देश बचाऊ, हिन्दू राष्ट्र घोषणा गर, देशभर हल्ला छ, राजा ल्याउन सल्लाह छ जस्ता नारा लगाएका थिए।

राजावादीहरूको कार्यक्रम सुरुवात कात्तिक १७ गते बुटवलबाट भएको थियो । बुटवलको कार्यक्रममा जनताको सहभागिता भएपछि राजवादीहरू उत्साहित भएका हुन्।

गणतन्त्रविरोधी तथा अहिलेको व्यवस्थाप्रति वाक्कदिक्क भएकाहरू पनि राजवादीको जुलुसमा सहभागी हुने गरेका छन् । पूर्वसभामुख दमननाथ ढुंगानाले प्रदर्शनमा राजवादीहरूले उठाएको नारा र दलहरूप्रति जनता दिक्क भएका छन् भन्ने दाबीलाई राजावादीहरूले आफ्नो किसिमबाट व्याख्या गरेको बताए।

‘यो भनेको आफ्नो–आफ्नो किसिमबाट गरिएको व्याख्या मात्र हो,’ उनले भने, ‘उनीहरू (राजावादी) ले आफ्नो हिसाबबाट व्याख्या गरिरहेका मात्र हुन् । लोकतन्त्रमा शान्तिपूर्ण किसिमबाट आफ्नो धारणा राख्ने छुट सबैलाई हुन्छ, यो भनेको संविधानको सम्मान पनि हो।’

कांग्रेस नेता रामहरि खतिवडाले केपी ओली नेतृत्व सरकारले नै प्रतिगमनलाई आमन्त्रण गरेको बताए । कोरोना महामारीबाट मुलुक आक्रान्त भएका बेला प्रधानमन्त्री जनताको समस्याप्रति गम्भीर हुनुको साटो आन्तरिक कलह र केक काट्नमै व्यस्त रहेको आरोप लगाउँदै उनले भने, ‘कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले नै राजावादीलाई स्थान दिने र प्रतिगमनलाई आमन्त्रण गर्ने काम गरिरहेको छ । जुन दुःखद कुरा हो।’

कांग्रेसका सांसद् भीमसेनदास प्रधानले राजतन्त्र फर्काउनुपर्छ भनेर भइरहेको जुलुस तथा प्रदर्शनलाई धमिलो पानीमा माछा मार्ने खेल भएको आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad