ad ad

छापा खबर


ओलीमाथि थप दबाब बढाउँने तयारीमा प्रचण्ड-नेपाल पक्ष, राजीनामा नै मुख्य सर्त, कस्तो छ ओलीको रणनीति?

ओलीमाथि थप दबाब बढाउँने तयारीमा प्रचण्ड-नेपाल पक्ष, राजीनामा नै मुख्य सर्त, कस्तो छ ओलीको रणनीति?

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार १:१६,

अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको बेग्लाबेग्लै राजनीतिक प्रतिवेदनसँगै पार्टी विवाद निर्णायक मोडमा पुगेपछि दुवै पक्षले अलग–अलग बटमलाइन अघि सार्ने तयारी गरेका छन् ।

मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको केन्द्रीय सचिवालय बैठकमा ओली र प्रचण्डको प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमाथि छलफल अघि बढ्ने भएपछि दुवै समूहले आन्तरिक छलफलबाट बटमलाइन बनाएका हुन् ।

निकासका लागि अहिलेसम्म विकल्पबारे दुवै पक्षका नेताहरूबीच औपचारिक र अनौपचारिक संवाद नभएका कारण प्रतिवेदनमाथिको छलफलकै क्रममा नेताहरूले आ–आफ्ना बटमलाइन प्रस्तुत गर्ने तयारी गरेका छन् । १३ मंसिरमा बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पेस गरेको जवाफी प्रस्तावमाथि अर्का अध्यक्ष प्रचण्डले बुँदागत रूपमा जवाफ दिँदै छन् ।

‘सम्पूर्ण रूपमा लिखित जवाफ होइन, बैठकमा राख्नुपर्ने विषयको टिपोट तयार भएको छ,’ मंगलबारको सचिवालय बैठकका लागि प्रचण्डको तयारीबारे उनीनिकट एक नेताले बताए । उनका अनुसार प्रचण्डले प्रधानमन्त्रीको राजीनामा माग्ने सम्भावना पनि छ ।

यसअघि २८ कात्तिकको सचिवालय बैठकमा प्रचण्डले राखेको राजनीतिक प्रस्तावमा देश र पार्टीका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले ‘त्याग’ गर्नुपर्ने माग थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

प्रधानमन्त्री ओलीले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको जनाएर त्यसका लागि बेग्लै सर्तसमेत अगाडि सारेका छन् । उनले पार्टी नेतृत्व हस्तान्तरणका लागि चैतमा हुने महाधिवेशनसम्म पर्खिनुपर्ने र सरकारको नेतृत्व हस्तान्तरणका लागि चुनावसम्म कुर्नुपर्ने सर्त राखेका छन्।

ओलीको यही प्रस्तावमाथि टेकेर प्रचण्ड–नेपाल समूहले अब ओलीको राजीनामा आउनुपर्ने सर्त अगाडि सार्ने तयारी गरेको छ । ओलीमाथि लगातार दबाब बनाइरहेको प्रचण्ड–नेपाल समूहले हरेक बैठकमा थप दबाब बढाउँदै लैजाने रणनीति पनि बनाएको छ।

दुई अध्यक्षका फरक–फरक प्रस्तावपछि नौ सदस्यीय सचिवालय दुई खेमामा विभाजित भएको छ । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को खेमाको नेतृत्व कार्यकारी अध्यक्ष प्रचण्डले गर्दै आएका छन् । ओलीलाई अहिलेसम्म उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलले साथ दिँदै आएका छन् । तर, प्रतिवेदनमाथि छलफल अघि बढेपछि बादलले आफूलाई साथ दिने प्रचण्डले निकटस्थ नेताहरूसँग दाबी गर्दै आएका छन्।

प्रचण्डको प्रतिवेदनलाई वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिँदै आएका छन् । तर, ओली र उनीनिकट नेताहरूले भने गौतमले सकभर ओलीलाई नै साथ दिने, त्यस्तो नभएको खण्डमा उनको भूमिका तटस्थ हुने विश्वास गर्दै आएका छन् । गौतमको अस्थिर भूमिकाका कारण प्रचण्ड र नेपाल पनि उनीसँग पूर्ण आश्वस्त भइसकेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .