एक दिने ‘वर्किङ भिजिट’मा आइतबार नेपाल आएका चिनियाँ रक्षामन्त्री वेई फेङहेले जंगीअड्डामा झन्डै तीन घण्टा बिताए। त्यसपछि फेङहे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गए।
त्यहाँबाट शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरे। फेङहेले आफ्ना राष्ट्रपति सी जिनपिङले पठाएको अभिवादन र शुभेच्छासहितको सन्देश सुनाए। उनले दुई मुलुकबीच सम्झौता भएर पनि कोरोना भाइरसका कारण रोकिएका विकासका कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
नेपाल–चीनबीच विगतमा भएका सम्झौता विभिन्न कारण कार्यान्वयन हुनबाट रोकिएका छन्। फेङहेले ती कामलाई शीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिएको स्रोत बताउँछ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा शम्भु कट्टेलले लेखेका छन्।
चिनियाँ बीआरआई परियोजनामा सूचीकृत भएका नेपालका योजना प्रभावकारी रूपमा कार्यान्वयन नभइरहेको अवस्थामा फेङहेले ती योजनाप्रति लक्ष्य गरी कार्यान्वयनका लागि राष्ट्रपति भण्डारीको ध्यानाकर्षण गराएका हुन्।
राष्ट्रपति भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवं स्वतन्त्रताको सम्मान गर्दै आएकामा चीनको सराहना गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया