छापा खबर


कोरोनाविरुद्धको खोप खरिद गर्न सरकारले ५० अर्ब छुट्यायो, कस्तो खोप ल्याइँदै छ नेपालमा?

कोरोनाविरुद्धको खोप खरिद गर्न सरकारले ५० अर्ब छुट्यायो, कस्तो खोप ल्याइँदै छ नेपालमा?

नेपालखबर
मंसिर १०, २०७७ बुधबार २:३७,

नेपालले विश्व बजारमा कोरोना भाइरस (कोभिड-१९) को खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ।

त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पुग्नेछ । साथै सरकारले अध्यादेश ल्याएर खोप भित्र्याउन रहेका कानुनी बाधा फुकाइसकेको छ। यो खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।

खोप खरिद गर्न सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाइसकेको र विभिन्न कम्पनीसँग नेपालका लागि प्रभावकारी हुने खोपबारे छलफल भइरहेको जानकारी स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले दिए।

खोप ल्याउने विषयमा स्वास्थ्य सेवा विभागस्थित बाल स्वास्थ्य तथा खोप शाखाले सबै खालको प्रक्रिया अद्यावधिक गर्ने जिम्मा पाएको छ । सो शाखाका प्रमुख डा.गौतमका अनुसार खोप ल्याउन प्रारम्भिक चरणको काम भइरहेको छ।

दुईदेखि आठ डिग्री सेन्टिग्रेडसम्म भण्डारण गर्न सकिने खोप भए नेपालका लागि छिट्टै खोप ल्याउन सहज हुनेछ । अहिले नेपाल आउन लागेका खोप त्यही मापदण्डभित्रकै छन्।

विश्व स्वास्थ्य सङ्गठनले थालेको कोभ्याक्स अभियान अन्तर्गत आउने खोप र व्यवसायगत हिसाबले विश्व बजारमा आउने जुनसुकै खोप नेपाल ल्याउन सरकारले तयारी गरेकाले नेपालीले कोभिड विरुद्धको खोप छिट्टै लगाउन पाउने आशा पनि बढाएको हो।

सहुलियतको खोप र व्यावसायिक रूपमा खरिद गर्ने दुवै थरी खोप नेपाल ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगै विभिन्न मन्त्रालयले हातेमालो गरिरहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

खोप नेपाल ल्याउन स्वास्थ्य सेवा विभाग खोप शाखाअन्तर्गत डा.श्यामराज उप्रेतीको संयोजकत्वमा बनेको विज्ञ समूहले योजना सहितको प्रस्ताव बनाएर स्वास्थ्य मन्त्रालयमा पेस गरेको थियो।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा परेर अभियानका रूपमा प्रयोगमा आउने भएपछि जुनसुकै खोप नेपालले पाउने दाबी डा. अधिकारीले गरे।

कोभ्याक्स अभियानअन्तर्गत स्वास्थ्य सङ्गठनले अल्पविकसित तथा कम विकसित मुलुकलाई पहिले खोप उपलब्ध गराउने पहिल्यै घोषणा गरिसकेको छ।

सोअनुसार नेपालले त्यसअन्तर्गत पहिलो चरणमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप पाउनेछ । ‘त्यो खोप कहिले आउँछ, अहिल्यै भन्न सकिँदैन तर पाउने निश्चित भएका देशले पाउन थालेपछि स्वतः आउँछ,’ अधिकारीले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad