राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट भएको छ।
अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) ले गुरुयोजना बनाउने जिम्मा पाएको खबर आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विमानस्थलको अद्यावधिक गुरुयोजना तयार गर्न कम्पनी छनोट भएको जानकारी दिए।
प्राधिकरणले आशय–पत्र (लेटर अफ इन्ट्रेस्ट) जारी गर्दै गुरुयोजना निर्माण गर्न कम्पनीको टुङ्गो लगाएको उनले बताए। गत असोजमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढाउन गुरुयोजना यथाशीघ्र निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका थिए।
मन्त्रालयको निर्देशनपछि प्राधिकरणले गुरुयोजना निर्माण गर्न कम्पनी छनोट गरेको हो । गुरुयोजना निर्माण गर्न प्राधिकरणले माग गरेको आशय–पत्रमा एक दर्जन कम्पनीले आवेदन भरेका थिए, जसमध्ये छवटा कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएका थिए।
छनोट भएका ती कम्पनीसँग सम्झौता भएको डेढ वर्षभित्र विमानस्थलको नयाँ गुरुयोजना तयार पारेर प्राधिकरणमा पेस गर्ने महानिर्देशक पोखरेलले जानकारी दिए। ३० करोड रुपियाँको लागतमा नयाँ गुरुयोजना निर्माण हुन लागेको हो।
‘सङ्क्षिप्त सूचीमा सूचीकृत भएका छवटा कम्पनीबाट प्राधिकरणले विस्तृत प्रस्ताव मागेको थियो जसमध्ये तीनवटा कम्पनीबाट मात्र विस्तृत प्रस्ताव आएका थिए’, महानिर्देशक पोखरेलले भने, ‘विस्तृत प्रस्ताव आएकामध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गरेको सीजी इन्फ्राटा–बीडीए कम्पनीले गुरुयोजना निर्माण गर्न छनोट भएको हो।’

प्रतिक्रिया