आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुबैले उपाध्यक्ष वामदेव गौतमलाई विश्वास गर्न नसक्दा गृहमन्त्री रामबहादुर थापाको साथ खोज्न थालेका छन्।
पार्टी एकताको पक्षमा उभिँदै आएका तथा ओली नेतृत्वको सरकार यथावत हुनुपर्छ भन्दै आएका थापासँग आइतबार कार्यकारी अध्यक्ष दाहालले दुई घण्टा कुराकानी गरे।
ओलीले पनि बेलाबेलामा थापासँग छुट्टै छलफल गरी साथ माग्दै आएका छन्। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।
तर, केही दिनयता दाहालले थापालाई लगातार खुमलटार बोलाएर आफूतिर खुल्न दबाब दिइरहेको स्रोतको दाबी छ।
तीन दिनअघि दाङ पुगेका बेला नेता गौतमले आफू कुनै गुटमा नरहेको बताएपछि दाहालले आइतबार बिहान थापालाई खुमलटार बोलाएका थिए।
दाहालले थापासँग कि ओलीतिर कि आफूतिर खुलेर लाग्नुपर्ने, अन्यथा लडाइँ वारपार नहुने र यसरी सधैँ रहिरहन नसकिने भनाई राखेका थिए। तर, थापाले कुनै जबाफ नदिएको स्रोतको भनाई छ।

प्रतिक्रिया