छापा खबर


प्रचण्डसहित पाँच नेतालाई ओलीको पत्र, दिए लिखित जवाफ

प्रचण्डसहित पाँच नेतालाई ओलीको पत्र, दिए लिखित जवाफ

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार २३:३४,

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच नेताले गुटबन्दी गरेको आरोप लगाएका छन्।

प्रचण्डसहितका पाँच नेताले सचिवालय बैठक बोलाउन माग गर्दै बुझाएको दुई पेज लामो लिखित पत्रको जवाफ दिँदै ओलीले पनि पत्र लेखेका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

कार्यकारी अध्यक्ष प्रचण्डलाई सम्बोधन र सचिवालयका अन्य चार नेता (झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ)लाई बोधार्थ दिई ओलीले लेखेको पत्रमा आफ्नाविरुद्ध घेराबन्दी र पार्टीमा गुटबन्दी गरेको आरोप लगाएका छन् ।

‘पार्टीको बैठकअघि नै विभिन्न ठाउँमा गुटको बैठक बस्ने, एजेन्डा बनाउने र त्यही एजेन्डा बोकेर पार्टीको आधिकारिक बैठकमा आउने अभ्यास भएको छ, त्यसले पार्टीको निर्णयलाई कमजोर बनाएको छ,’ ओलीको पत्रमा उल्लेख भएको सचिवालयका एक सदस्यले बताए ।

पत्रमा ओलीले प्रचण्ड र उनीसहितका सचिवालयका नेताहरूले गुटबन्दी तथा गलत प्रचार गरेको आरोप लगाएका छन् । ‘दुई अध्यक्षबीच भएका छलफलले तय गरेका एजेन्डामा मात्र बैठक बस्ने भन्ने सहमति हो, तर अन्यन्त्र एजेन्डा बनाएर आउने मात्र होइन, नेताहरूबीच भएका छलफललाई अन्यथा अर्थ लगाई प्रचार गर्ने गरिएको छ, त्यसले पार्टीलाई कमजोर बनाएको छ,’ सचिवालयका सदस्यले पत्र उद्धृत गर्दै भने, ‘बरु पार्टीमा कार्यकारी अध्यक्षसहित अन्य नेताहरूमाथि पनि आरोप छ, आरोपको प्रत्यारोप मात्र छ, तर पार्टी विवाद कसरी समाधान गर्ने भन्ने विषयमा कुनै एजेन्डा आएको छैन।’

सचिवालयका ती सदस्यका अनुसार प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा अन्य नेतालाई बोधार्थ छ।

यसअघि अध्यक्ष प्रचण्डसहित पाँच शीर्ष नेताले २२ कात्तिकमा बालुवाटार पुगेर बैठक बोलाउन दुई पेज लामो लिखित पत्र बुझाउँदै ४८ घन्टाभित्र सचिवालय बैठक राख्न आग्रह गरेका थिए।

ओलीलाई बुझाइएको लिखित पत्रमा प्रधानमन्त्री ओलीमा व्यक्तिवाद हावी भएको, स्थायी कमिटीका निर्णयहरूलाई निरन्तर उल्लंघन गरेको, प्रधानमन्त्रीकै कारण कर्णाली प्रदेशमा समस्या उत्पन्न भएको, कोभिड– १९ महामारी नियन्त्रण गर्न नसकेको, पर्सामा पार्टी कार्यकर्ता हत्या हुँदा गुटगत संरक्षण गरेकोलगायतका आरोप थिए । प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई बोलाएर भेटेकोमा पनि प्रचण्ड–नेपाल समूहको असन्तुष्टि छ।

त्यस्तै, ओलीले पार्टी नेताहरूलाई समेत अपमान गर्ने शब्द प्रयोग गर्दै आएका विषय पनि उठाइएको थियो । प्रधानमन्त्रीले पार्टीका केन्द्रीय सदस्यहरूलाई सडकछाप, स्थायी कमिटी सदस्यहरूलाई हुल्लडवाज भनेर पार्टी नेताहरूको हुर्मत लिने गरी अपमान गर्ने गरेकोजस्ता विषयसमेत पत्रमा उल्लेख थियो । पाँच नेताले लेखेको पत्रमा ओलीले सरकारलाई जनमुखी बनाउन नसकेको, पार्टीलाई पनि एकताबद्ध बनाई गतिशील गराउन नसकेको तथा स्थायी कमिटीका निर्णय कार्यान्वयनमा गम्भीर नभएको आरोप छन्।

पाँच नेताले लेखेको पत्रमा आफूमाथि लगाइएको आरोपको जवाफ दिँदै ओलीले जवाफी पत्र लेखेका हुन् । तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गर्दै लिखित पत्र बोकेर बालुवाटार गएका कार्यकारी अध्यक्ष प्रचण्डसहितका सचिवालयका पाँच सदस्य र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीबीच त्यस दिन पनि तिक्ततापूर्ण संवाद भएको थियो।

धुम्बाराहीमा दोस्रो दिन छलफल गरेर एकैपटक बालुवाटार पुगेका नेताहरूले बैठक माग गर्दै लिखित पत्र बुझाएका थिए।

त्यस दिन पनि प्रधानमन्त्री ओलीले जहिल्यै जाली–झेली कुरा गर्ने, मान्छेलाई भड्काउने, गुटबन्दी गर्नेलगायतका आरोप लगाउँदै प्रचण्डप्रति आक्रामक रूपमा प्रस्तुत भएका थिए । जवाफमा प्रचण्डले बालुवाटारमा बसेर जालझेल र चरम गुटबन्दी गर्ने गरेको आरोप लगाएका थिए । वरिष्ठ नेता नेपाल, खनाल, गौतम र श्रेष्ठले पनि ओलीको कार्यशैलीमाथि प्रश्नैप्रश्न उठाएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .