छापा खबर


अमेरिकामा बाइडेन: विज्ञ भन्छन्- अन्तर्राष्ट्रिय परिस्थिति बदलिन्छ, नेपाललाई के हुन्छ?

अमेरिकामा बाइडेन: विज्ञ भन्छन्- अन्तर्राष्ट्रिय परिस्थिति बदलिन्छ, नेपाललाई के हुन्छ?

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार २३:३६,

नयाँ निर्वाचनमार्फत अमेरिकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि नेपाल–अमेरिका सम्बन्धबारे चर्चा सुरु भएको छ।

पूर्वपरराष्ट्रसचिव एवं अमेरिकाका लागि पूर्व नेपाली राजदूतहरू अन्तर्राष्ट्रिय उदारवादी वातावरण हुने, अन्तर्राष्ट्रिय धु्रवीकरणको प्रक्रिया मत्थर हुने, मध्यपूर्वको तनाव मत्थर हुने र नेपालमा मिलिनियम कर्पोरेसन (एमसिसी)बारे नयाँ शिराबाट छलफल सुरु हुने टिप्पणी गर्छन् ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्।

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यको विश्लेषणमा अमेरिकामा नेतृत्व परिवर्तनले नेपाल–अमेरिका सम्बन्धमा धेरै फरक नपर्ने, तर विश्वव्यापी लोकतान्त्रिक वातावरण बन्ने हुनाले त्यसबाट नेपाललाई पनि सहज अवस्था हुनेछ।

‘बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिससँग नेपालीको पहुँच रिपब्लिकनहरूको भन्दा सहज छ । इन्टरनेसनल अर्डर फ्रेन्ड्ली हुन्छ । बाइडेन उदारवादी धारका हुनाले त्यसले हामीलाई पनि राम्रै हुन्छ,’ आचार्यले भने ।

कागजात नपुगेर अमेरिकामा चिन्तित भएका नेपाली समुदायका लागि बाइडेनको विजयले राहत दिलाउने आचार्यको बुझाइ छ । किनकि निवर्तमान हुँदै गरेका रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजात नभएका आप्रवासीलाई आफ्नै देश फर्काइदिने चेतावनी दिएका थिए।

अमेरिकाका लागि पूर्वराजदूत डा.सुरेशराज चालिसको बुझाइमा बाइडेनको विजयले अन्तर्राष्ट्रिय वातावरणमा भिन्नता आउनेछ, तर नेपालका लागि अरू प्रशासनभन्दा आधारभूत भिन्नता हुनेछैन।

‘अब पक्कै पनि मध्यपूर्वको क्षेत्रीय तनाव कम हुनेछ, विश्व स्वास्थ्य संगठन, जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा अमेरिका फर्किनेछ । चीनसँगको व्यापार युद्ध केही हदसम्म मत्थर हुनेछ,’ पूर्वराजदूत डा.चालिसे भन्छन्, ‘ट्रम्पले लेफ्ट वा राइट कित्तामा विश्वलाई धु्रवीकृत गरिरहेका थिए, बाइडेनको पृष्ठभूमिअनुसार उनले दुवैलाई सन्तुलनमा राख्ने भूमिका निर्वाह गर्छन् भन्ने मलाई लाग्छ।’

अमेरिकाले नेपाललाई स्वतन्त्र आँखाबाट हेर्दै आएको डा.चालिसेको बुझाइ छ । उनको बुझाइमा भारतमा सिक्किम विलय भएपछि तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरले विश्वभरका अमेरिकी मिसनमा पठाएको केबुलमा नेपाल र सिक्किम एकै प्रकृतिका देश नभएको उल्लेख थियो।

विकिलिक्सले सार्वजनिक गरेको दस्ताबेजअनुसार नेपाल सम्प्रभु देश हो, सिक्किमजस्तो होइन भन्ने किसिन्जरको भनाइ थियो । दोस्रो जनआन्दोलनअघि अमेरिकी विदेशमन्त्री कोन्डालिसा राइस भारत भ्रमणमा आएका वेला उनी र भारतीय तत्कालीन समकक्षी के नटवर सिंहले भनेका थिए, ‘नेपालका सन्दर्भमा भारत र अमेरिका एकै ठाउँमा छन्।’

‘नेपालका सन्दर्भमा कहिलेकाहीँ भारत र अमेरिकाको धारणा मिल्छ, कहिले मिल्दैन, दोस्रो जनआन्दोलनका वेला चीन र अमेरिकाको पनि धारणा एउटै थियो कि संवैधानिक शक्तिहरू मिलेर अघि जानुपर्छ,’ चालिसेको भनाइ छ, ‘अमेरिकाले नेपाललाई भारतको नजरबाट हेर्दैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad