संसद् र आवश्यकताअनुसार सडकमै उत्रेर जनताको मुद्दालाई सशक्त बनाउने जिम्मेवारी पाएको कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकाबाट विमुख छ।
महाधिवेशनको दौडमा लागेका कांग्रेस नेता विपक्षीको ‘धर्म’ भुलिरहेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन्।
पार्टीभित्र गुटको जालोमा अल्झिएका सभापति शेरबहादुर देउवा सरकारका गलत काममा खबरदारी गर्नुको सट्टा सरकारी नियुक्तिमा भागबन्डा खोजिरहेका छन् । अवस्था यस्तो छ, कैयौँ राष्ट्रिय जनसरोकारका मुद्दामा विपक्षीले सरकारमाथि होइन सरकारले विपक्षीमाथि दबाब बनाएको छ ।
कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारमा सरकारको काममा जनस्तरबाटै असन्तुष्टि छन्, तर विपक्षी कांग्रेसले जनताका लागि आशा लाग्दो भूमिका निर्वाह गरेका छैन।
औषधि र उपकरण खरिदमा भ्रष्टाचारदेखि कोरोना परीक्षण र उपचारमै शुल्क लिने निर्णयले जनता आक्रोशित भए पनि कांग्रेस सत्ताकै छाया बनेर घुमिरहेको छ । त्यसैले पार्टीभित्रै पनि विपक्षीको भूमिकालाई लिएर प्रश्न उठेका छन् । विपक्षीको आवाज कमजोर हुँदा कोरोना परीक्षण र उपचार मुद्दा न्यायालयसम्म पुगेका छन् ।
देउवानिकट मानिने केन्द्रीय सदस्य रमेश लेखक कांग्रेसले प्रतिपक्षीका रूपमा प्रभावकारी भूमिका खेल्न नसकेको, तर जनताको अपेक्षा रहेको स्विकारे।
‘सरकारका काम कारबाहीसँग जनताको निराश बढ्दो छ, आर्थिक, भौतिक, सामाजिक विकास, कानुन कार्यान्वयन होस् वा भ्रष्टाचार नियन्त्रण र सुशासन, कतै पनि जनताले चित्त बुझाउने ठाउँ पाउँदैनन्,’ उनी भन्छन्, ‘त्यसैले जनतामा सरकारप्रति निराशा बढ्दो छ, उत्तिकै मात्रा प्रतिपक्षीको सक्रियता चाहेका छन् ।’
क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन र स्वास्थ्य सामग्री खरिदका विषयमा सेचत युवा सडकमा उत्रिए, तर ०७४ को चुनावमा जनताको अभिमतबाटै खबरदारी गर्ने भूमिका पाएको कांग्रेस भने पार्टीभित्रको भागबन्डा र आन्तरिक कलहमै अल्झिएको छ।
कांग्रेस यसरी अल्झिएको छ कि आफ्नै नेतृत्वमा संघीय संविधान जारी गरेको श्रेय लिए पनि पाँच वर्षसम्म आफ्नै पार्टी संघीयतामा ढाल्न सकेको छैन ।
सभापति देउवामाथि ठूला भ्रष्टाचार प्रकरणमा संलग्नताको आरोप लाग्यो, तर त्यसबारे छानबिन गर्ने र गराउने भूमिका कांग्रेसले खेल्न सकेन । बालुवाटार जग्गा, गोकर्ण जग्गा भाडा र बुढीगण्डकी जलविद्युत्मा भ्रष्टाचार प्रकरण त्यसका उदाहरण हुन्।

प्रतिक्रिया