आफू र परिवारको सुखका लागि उहिले मुुग्लान पस्ने चलन थियो।
अहिले पनि देश–प्रदेश भौँतारिने गरिन्छ तर जुक्ति जानिए गाउँघरकै स्रोत र साधनले परिवर्तन ल्याउन सक्ने सफलताको कथा हुम्लाको एउटा गाउँले देखाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा राजन राउतले लेखेका छन्।
गाउँकै पाखापखेरामा खेर गइरहेको स्थानीय जडीबुटी त्यसको कारण बनेको छ । त्यही स्थानीय स्रोतको सदुपयोगले नै सिङ्गो गाउँकै मुहारमा परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण नेक्पाका स्थानीयवासीले दिएका छन्।
खेर गइरहेको जडीबुटी सङ्कलन गरेर यहाँका स्थानीयवासीले घरको छाना बदल्नुका साथै पठनपाठनको गर्जो समेत टार्न सफल भएका छन् । यहाँको जङ्गलमा पाइने जटामसी, कुट्खी, सेतकचिनी जस्ता जडीबुटीले स्थानीयवासीको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याइदिएको छ।
जडीबुटीको सङ्कलनबाट हुम्लाकै दुर्गम नेक्पा बस्तीमा बर्सेनि खरका छाना हटाउने क्रम जारी रहेको स्थानीय धनबहादुर तामाङले बताए ।
स्थानीयवासीले जङ्गलमा पाइने जडीबुटी सङ्कलन गरेर नेपालगञ्जबाट आउने व्यापारीलाई बिक्री गर्छन् । उच्च हिमाली भेगमा पाइने यी मूल्यवान् जडीबुटी विदेश निर्यात हुने गर्छ । जसले गर्दा माग पनि निकै हुने गर्छ।

प्रतिक्रिया