छापा खबर


ओलीले नेपाललाई पदको लोभ देखाएर फकाउने शैलीमा भने- प्रचण्डलाई पार्टी बुझाउन सकिँदैन, नेपालले के भने?

ओलीले नेपाललाई पदको लोभ देखाएर फकाउने शैलीमा भने- प्रचण्डलाई पार्टी बुझाउन सकिँदैन, नेपालले के भने?

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार १:५८,

प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अघिल्लो मंगलबार एकापसमा दोषारोपण गर्ने काम मज्जैले भयो।

प्रधानमन्त्रीले फकाउने शैलीमा भने, ‘अबको महाधिवेशनपछि म अध्यक्षमा उठ्ने होइन । चुनावमा उठेर फेरि प्रधानमन्त्री हुने पनि होइन । तपाईंलाई दिने भनेर भनिआएकै छु । तपाई–हामी मिलेर यत्रो दुःखका साथ पार्टीलाई यहाँसम्म ल्याइपु¥यायौँ । अब प्रचण्डलाई पार्टी बुझाउने कुरै हुँदैन । उसलाई बुझाउने कुरा सपनामा पनि नचिताए हुन्छ।’

माधव नेपाललाई फकाउने नाममा प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डको राम्रैसँग बद्ख्वाइँ गरे । ‘र’का प्रमुख सामन्तकुमार गोयलको भ्रमणबारे पनि जमेरै छलफल भयो। यो खबर आजको जनआस्था दैनिकले छापेको छ।

माधवले भने, ‘तपाईंले यो ठीक गर्नुभएन । म प्रधानमन्त्री र पार्टी प्रमुख भइसकेको मान्छे । यो रुपमा, खुल्लमखुला पार्टीको हुर्मत लिने काम राम्रो भएन। हिजो जसरी आफूलाई मेन्टेन गरिरहनुभएको थियो, जुन इमेज बनाइरहनुभएको थियो, सोच्नुभएको छ, यो भ्रमणपछि तपाईंको इमेज कस्तो भयो? मान्छेहरूले तपाईंबारे के धारणा बनाएका छन्? बुझ्नुभएको छ ?’ माधवले भने, ‘आज भारतीय गुप्तचर प्रमुखसँग यसरी भेट्नुभयो । भोलि पाकिस्तानी आइएसआईका प्रमुख आउलान् । के तिनलाई त्यसरी नै भेट्नुहुन्छ?’

माधवको भनाइ थियो, ‘तपाईंलाई जे गर्न मन लाग्यो, त्यही गर्ने? मलाई केही पनि चाहिँदैन । तपाईंको आश्वासन पनि चाहिएन । केही दिनै पर्दैन । मैले प्राप्त अवसरहरू पहिल्यै सदुपयोग गरिसकेको छु । विधि, प्रक्रिया र नीतिमा चल्नुस् । तपाईंले सबै कुराको ख्याल गर्नुभएको छैन । यसले राम्रो गरेको छैन, गर्दैन । यो तरिकाले पार्टी कहीँ पनि पुग्दैन।’

प्रधानमन्त्रीले ‘र’ प्रमुखसँगको भेटबारे स्पष्ट पारे, ‘मोदीजीले एकजना मान्छे पठाउँदै छु भन्नुभयो । को हो भनेर सोधिखोजी गर्ने कुरा पनि भएन । आएपछि पो थाहा भयो, ‘र’ का प्रमुख पो रहेछन्।’

यो कुरालाई टिप्पा दिँदै माधव नेपालले भने, ‘यस्ता केटाकेटी कुरा नगर्नुस् । केही नबुझ्ने, केही नजान्नेजस्तो ढाँट, छल र कपटका कुरा गरेर केटाकेटी पारा नदेखाउनुस् । त्यो सुनियोजित भेट थियो । त्यसले के सन्देश दिन खोजेको छ भन्ने कुरा पनि छर्लङ्गै छ।’

ओलीले सीमा विवाद वार्ताबाट सुल्झाउने कुरा भएको र परिणाम पनि राम्रै आउने आशा रहेको बताए । ओलीले पटक–पटक माधवसँग सहकार्यका लागि आग्रह गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad