छापा खबर


भर्खरै निको भएका कलाकार हरिवंश आचार्य भन्छन् : कोरोना संक्रमण कति पीडादायी हुन्छ, लागेपछि मात्रै थाहा हुन्छ

भर्खरै निको भएका कलाकार हरिवंश आचार्य भन्छन् : कोरोना संक्रमण कति पीडादायी हुन्छ, लागेपछि मात्रै थाहा हुन्छ

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार ०:४१,

नेपाली कलाकारहरूले कोरोना भाइरस (कोभिड-१९) खेलाची गर्ने रोग नभएको बताएका छन्। कोरोना सङ्क्रमणबाट पीडित बनेका कलाकारहरूले कोरोनाविरुद्ध लड्न आफैँ सुरक्षित भएर बस्नुपर्ने सुझाव पनि दिएका छन्।

कोरोना सङ्क्रमणबाट मुक्त भएका वरिष्ठ कलाकार हरिवंश आचार्यले भने, “यो रोग आफूलाई लागेपछि मात्र यसको पीडा थाहा हुन्छ । त्यसैले आफू र आफ्नो परिवारलाई यो रोग लाग्नबाट बचाउन सक्ने सम्पूर्ण उपाय अपनाउनुपर्छ।”

दुई साता घरमै एकान्तबास बसेर सङ्क्रमणमुक्त भएपछि उनले सबैलाई सचेत भएर बस्न आग्रह गरेका हुन्।

आचार्यले भने, “कोरोनालाई कतिपयले हल्का विषय बनाएका छन्, यसमा हामी एकदमै गम्भीर बन्नुपर्छ। सचेत रहेर आफ्नो दैनिकी अगाडि बढाउनुपर्छ, १४ दिनको एकान्तबासले धेरै कुरा सिकायो भने पीडा के हो भन्ने पनि बुझायो।”

कलाकार तथा नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा घरमा एकान्तबासका साथै अस्पतालमा समेत उपचारका लािग बस्नुपरेको सम्झँदै भन्छन्, “थुप्रै पीडाका बीच मैले कोरोना जितेको हो।”

उनले अगाडि भने, “मैले हरेक दिन कोरोनासँग लडिरहेँ। अनेक दुःख र कष्टबीच कोरोनासँगको सङ्घर्षमा हार मानिनँ । यसबीचमा मैले भोगेका कष्टप्रद क्षण अनगन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर सङ्घर्ष गरेर जितेँ।”

यसैगरी हास्य कलाकार मनोज गजुरेलले कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे। आफ्नै घरमा एकान्तबास बसेका गजुरेलले कडा खालका कुनै लक्षण नदेखिए पनि मानसिक तनाव भएको स्वीकार गरे।

सङ्क्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपाय अपनाउँदा अपनाउँदै पनि कोरोना जुनसुकै बेला, जसलाई पनि लाग्न सक्ने भएकाले सचेत रहन उनले आग्रह गरे। कोरोनाबाट मुक्त हुन ध्यान केन्द्रित गरेको र घरेलु उपचारले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मनलाई बहलाउने कार्यमा लागेको अनुभव सुनाउँदै उनले आफू सचेत रहन, अरूलाई सुरक्षित रहन तथा सङ्क्रमण देखिहालेमा पनि नआत्तिन, विश्वासिलो चिकित्सकको सम्पर्कमा रहन सुझाव दिए।

अर्का हास्य कलाकार देवीराम पराजुली ‘भोक लाग्यो’लाई पनि कोरोना सङ्क्रमण भएको र यो रोगसँग लड्दै बिस्तारै निको हुन लागेको बताए। हास्य शृङ्खला जिरे खुर्सानीमा भोक लाग्यो पात्रको अभिनय गर्दै आएका पराजुलीले सामाजिक सञ्जालमा कोरोनाले माया गर्दा र कोरोनाबाट विछोड हुँदाको अवस्थाको भनेर तस्बिर सेयर गरेका छन्।

नेपाली हास्य टेलिशृङ्खला ‘भद्रगोल’ का निर्माता तथा कलाकार सुवास कार्की ‘बेलासे’ लाई कोरोना सङ्क्रमण भएको छ भने गायक खेम सेन्चुरी कोरोना सङ्क्रमणमुक्त भएका छन्। हल्का ज्वरो आउने, रुघाखोकी लाग्ने भएपछि पीसीआर परीक्षण गराएको जानकारी दिँदै उनले रिपोर्ट पोजेटिभ आएपछि घरमै एकान्तबासमा बसेको जानकारी दिए।

घरमै बसेर तातोपानी पिउने, व्यायाम गर्ने तथा खानपिनमा बढी ध्यान दिन थालेपछि सङ्क्रमणमुक्त भएको उनकाे अनुभव छ।

तातोपानी, बेसारपानी, दालचिनी पानी, सुप र तितेपातीलगायत थप भिटामिन तथा फलफूल खाएको जानकारी उनले दिए। मानसिक तनाव धेरै हुने भएकाले मेडिटेसन तथा मन र दिमागलाई आनन्द हुने सङ्गीत सुनेको पनि जानकारी दिँदै उनले सचेत भएर सुरक्षित बस्दा कोरोना बाहिर हल्ला फैलिएजस्तो नरहेको अनुभव सुनाएकाे खबर बुधबारकाे गाेरखापत्रमा यलु जाेशीले लेखेकी छन्। 

गायक तथा सङ्गीतकार टङ्क बुढाथोकी भदौ महिनामा सङ्क्रमित भएका थिए। घरमै एकान्तबास बसेका बुढाथोकीले घरेलु उपचार पद्धति अपनाएका कारण सङ्क्रमणमुक्त भएको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad