दसैँमा भएको चहलपहलले मुलुकका ४७ स्थानीय तह कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेका छन् ।
कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले गरेको एक अध्ययनमा २२ स्थानीय तह कोभिडको अत्यन्तै उच्च जोखिममा र २५ स्थानीय तह उच्च जोखिममा परेको जनाइएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।
सिसिएमसीले अत्यन्तै उच्च जोखिम र उच्च जोखिममा परेका स्थानीय तहको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छ । सिसिएमसीले मोबाइल एपका आधारमा मानिसको आवतजावतलाई ट्र्याकिङ गरेको थियो । ट्र्याकिङबाट ४७ स्थानीय तह कोरोनाको जोखिममा परेको पाइएको हो।
सिसिएमसीले कोरोनाको जोखिम क्षेत्रको मूल्यांकन गरी जानकारी दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, ती क्षेत्रमा हाल कति संक्रमित देखिएका छन् भन्ने तथ्यांकको सूची भने बुझाएको छैन ।
स्वास्थ्य मन्त्रालयले यसअघिसम्म दुई सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई जोखिम र पाँच सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई उच्च जोखिममा राखेको थियो।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा.समीर अधिकारीका अनुसार मानिसहरूको आवतजावत गर्ने हिसाबले ती क्षेत्र बढी संक्रमित हुने देखिएको हो । ‘दसैँमा त्यहाँ गएकालाई पनि फैलाउने र अन्तबाट आएकाहरूले पनि फैलने देखिएको छ,’ उनले भने । यी स्थानीय तह बढी जनसंख्या भएका क्षेत्र हुन् ।
जनसंख्या कम भएको ठाउँमा सीमित व्यक्तिलाई मात्रै सर्ने सम्भावना भए पनि बढी जनसंख्या भएको ठाउँमा कसले कसलाई भेट्यो भन्ने थाहा नहुने चिकित्सकहरू बताउँछन् ।
अहिले काठमाडौंमा दैनिक केस बढ्नुको प्रमुख कारण पनि कसले कसलाई भेट्यो भनेर पत्ता लगाउन नसक्नु नै भएको चिकित्सकको भनाइ छ।

प्रतिक्रिया