छापा खबर


मास्क लगाउनै मान्दैनन् भीआईपी

मास्क लगाउनै मान्दैनन् भीआईपी

नेपालखबर
असोज २६, २०७७ सोमबार ०:०,

गत वर्षको फागुनबाट नेपालमा कोरोना संक्रमण सुरु भयो । हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ।

संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा प्रोटोकल तय गरेको छ।

तर, सरकारका प्रधानमन्त्री, विभिन्न पार्टीका नेतादेखि मन्त्री र सरकारी उच्च ओहोदामा रहेका भीआईपीहरू नै सरकारी प्रोटोकल मान्दैनन् अर्थात् हेलचेक्रयाइँ गर्छन् । उनीहरू मास्क नलगाई सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आइरहेका खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि पत्रकार ऋषि धमलासँगको टेलिभिजन अन्तर्वार्ताका क्रममा मास्क नै लगाएका थिएनन् । यस्तै, उनले २६ भदौमा सम्पन्न नेकपाको स्थायी समितिको बैठकमा समेत मास्क लगाएका छैनन् । प्रायः प्रधानमन्त्रीका भेटघाटका तस्बिरहरू बिनामास्कका देखिन्छन्।

सत्तारूढ दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल भने प्रायः मास्कमै पार्टीका कार्यक्रम तथा भेटघाटमा देखिन्छन् । उनले पार्टीका बैठक र भेटघाटका कार्यक्रममा मास्क लगाएको पाइन्छ।

यसैगरी, कांग्रेस सभापति शेरबहादुर देउवासमेत विरलै मास्क प्रयोग गर्छन् । उनले बाहिर हिँड्दा मास्क प्रयोग गर्ने गरेको देखिए पनि कार्यक्रममा सहभागी हुँदा र नेताहरूसँगको भेटघाटमा मास्क प्रयोगमा बेवास्ता गरेको देखिन्छ । देउवाले राप्रपा परित्याग गरी कांग्रेस भित्रिएका सुनिल थापासँगको सामूहिक तस्बिर खिचाउँदा मास्क प्रयोगमा बेवास्ता गरिएको तस्बिर उनकै फेसबुक पेजमा छ।

यस्तै, इनअफ इज इनअफका अनशनकारीलाई भेट्दा समेत देउवाले मास्क लगाएका थिएनन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मास्क लगाउने तर हेलचेक््रयाइँ गर्नेमा पर्छन् । उनले १५ साउनमा पार्टी केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनमा मास्क खोलेर टेबलमा राखेको तस्बिर उनकै फेसबुक पेजमा छ।

यसैगरी, सरकारका उपप्रधानमन्त्री एवं कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारबाटै बनाइएको उच्चस्तरीय समिति सीसीएमसीका संयोजक ईश्वर पोखरेल समेत मास्क प्रयोगमा हेलचेक्रयाइँ गर्नेमा पर्छन्।

उनले समेत भूषण दाहालसँगको एक टेलिभिजन कार्यक्रममा मास्क नलगाईकन १० भदौमा अन्तर्वार्ता दिएको भिडियो पोखरेलको फेसबुक पेजमा छ । उनी बाहिरी कार्यक्रममा भने मास्कमा नै देखिन्छन् ।

यस्तै, सबैभन्दा सावधानी अपनाउनेमा गृहमन्त्री रामबहादुर थापा देखिन्छन् । उनी हरेकजसो भेटघाट र भ्रमणमा मास्कमा नै देखिने गरेका छन् । यस्तै, पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्वअर्थमन्त्री युवराज खतिवडासमेत मास्कको सावधानीपूर्वक प्रयोग गर्ने मन्त्रीमा पर्छन्।

सरकारका पर्यटनमन्त्री योगेश भट्टराई भने मास्कको प्रयोगमा सबैभन्दा बढी हेलचेक्र्याइ गर्नेमा पर्छन् । उनी गत साता बिनामास्क सुर्खेतदेखि आफ्नै गृह जिल्ला ताप्लेजुङ र राजधानी काठमाडौंमा भएका उच्चस्तरका भेटघाटमा सहभागी भए । हाल भने उनी कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad