ad ad

छापा खबर


काठमाडौंको मुटुमा रहेको ग्रान्डी सिटी अस्पताल दर्तै भएकाे रहेनछ!

काठमाडौंको मुटुमा रहेको ग्रान्डी सिटी अस्पताल दर्तै भएकाे रहेनछ!

नेपालखबर
असोज ११, २०७७ आइतबार २:१४,

स्वास्थ्य सेवाप्रति सरकार कति लापरबाह छ भन्ने उदाहरणमध्ये एक बनेको छ– काठमाडौंको मुटु कान्तिपथस्थित ज्योति भवनमा सञ्चालित ग्रान्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रालि।

यसको दर्ता कुन सरकारी निकायमा भएको छ भनेर सबै सम्बद्ध निकाय चहार्दा पनि कतै नभेटिएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ।

दुई सय बेडभन्दा माथिको अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग वा क्षेत्रीय निर्देशनालयले स्वीकृति दिनुपर्ने प्रावधान छ।

हाल ग्रान्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रालि के कति बेडमा सञ्चालन छ र कहाँ स्वीकृति लिएको छ आफूलाई जानकारी नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. जागेश्वर गौतमले बताए।

स्वास्थ्य सेवाको गुणस्तर सम्बन्धमा प्रश्न उठिरहेका बेला स्वास्थ्य मन्त्रालयको करिब एक किलोमिटर निकट वर्षौंदेखि सञ्चालित अस्पतालको वैधताबारे मन्त्रालयलाई थाहा नभए पनि विभागलाई हुन सक्छ।

स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले भने, ‘२०७७ असार ३१ गते चलानी नं ४७७ बाट ग्रान्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रालि काठमाडौंका नाममा काटेको पत्रमा आवश्यक कागजात तुरुन्त उपलब्ध गराउन माग गरिएको देखिन्छ, अरू जानकारी छैन।’

महाशाखाले पनि दर्तासम्बन्धी विवाद बाहिर आएपछि मात्र पत्राचार गरेको हो।

grandicity12

पत्रमा ग्रान्डी सिटी प्रालिको सञ्चालन अनुमति सम्बन्धमा सरोकारवालाबाट उजुरी परेको हुँदा सो संस्थाको स्वास्थ्य सेवा सञ्चालन स्वीकृति दिने निकायको प्रमाणित प्रतिलिपि तीन दिनभित्र स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखामा उपलब्ध गराउन माग गरिएको, जबाफ प्राप्त नभएको महाशाखाले जनाएको छ।

त्यसैगरी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय बागमती प्रदेशबाट २०७७ साउन ८ गते वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुन सापकोटाले स्वास्थ्य कार्यालय काठमाडौंलाई पठाएको पत्रमा पनि ग्रान्डीबारे सम्बन्धित कार्यालयमा जानकारी पठाउन भनिएको छ, तर त्यसको पनि जबाफ प्राप्त भएको छैन।

सोही अस्पतालको विषयमा पुनः प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय, काठमाडौंले २०७७ साउन ९ गते स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखा, टेकु, काठमाडौंलाई काटेको पत्रमा हस्पिटल सञ्चालन विषयमा कार्यालयको अभिलेखअनुसार उक्त स्वास्थ्य संस्थाले यस कार्यालयबाट स्वास्थ्य संस्था सञ्चालनको अनुमति लिएको नदेखिएको स्वास्थ्य अधिकृत घनश्याम पौडेलले स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौंडालाई समेत बोधार्थ दिएर पत्र पठाएको देखिन्छ।

ज्योति भवन कान्तिपथ काठमाडौंमा रहेको २४ बेडको उक्त अस्पताल सन् २०१३ देखि सञ्चालनमा छ । कुल २७ चिकित्सक सेवामा आबद्ध रहेको ग्रान्डी सिटीको वेबसाइटमा राखिएको छ।

पछिल्लो अपडेटअनुसार अस्पतालमा आकस्मिक कक्ष, आईभीएफ फर्टिलाइजर क्लिनिक, इन पेसेन्ट, आउट पेसेन्ट, फिजियोथेरापी, अप्रेसन, प्याथोलोजी, फार्मेसी, हेल्थ स्क्रीनिङ सेन्टर, रेडियोलोजी, आईसीयू एचसीयु, एनआईसीयू विभागहरू रहेका छन्।

अस्पताल दर्ताका विषयमा जानकारी लिनका लागि ग्रान्डी सिटीको वेबसाइटमा राखिएको ४१६३६७८ नम्बरमा पटकपटक फोन गरेर अस्पताल दर्ताका विषयमा जानकारी लिनुपर्‍याे, प्रशासनमा दिनुस् भन्दा रिसेप्सनमा कार्यरत कर्मचारीले प्रशासनका कर्मचारीले कुरा गर्न नचाहेको बताइन्।

सञ्चालक मिला सायमी र प्रशासन प्रमुख अमित खन्नाले जबाफ दिन नचाहेपछि ग्रान्डीका मूल लगानीकर्ता उद्यमी डा‍. रुप ज्योतिसँग सम्पर्क गर्दा उनले संघ र प्रदेश सरकारले एकले अर्कालाई जिम्मेवारी पन्छाएर दर्ता कहाँ गर्ने भन्ने विवाद बाँकी रहेको स्वीकार गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .