छापा खबर


मलमासमा पहिले महिला घर छाड्थे अहिले पुरुष छाड्दै!

मलमासमा पहिले महिला घर छाड्थे अहिले पुरुष छाड्दै!

नेपालखबर
असोज ३, २०७७ शनिबार २:३८,

स्याङ्जा सदरमुकाम निवासी रोशन लामिछाने असोज १ गते ससुराली पुगे। मलमास छल्न र ससुराली भेटघाटका लागि गएको उनले बताए। सधैंजसो काममा व्यस्त हुने लामिछानेले मलमास छल्ने बहानामा ससुराली भेटघाट गर्ने अवसर बनाए। उनले ३ दिन ससुराली बसेर मलमास छल्ने बताए।

यसैगरी, निजामति सेवाका कर्मचारी गोबिन्द सुवेदी पनि एक साताका लागि घर नआउने भएका छन्। उनले पनि मलमास छल्नका लागि आफू कार्यरत कार्यालय नजिकै डेरा बसाउने भएका छन्। शुक्रबार बिहानै झिसमिसेमै घरबाट निस्केका उनी एकसाता मलमास छलेर मात्र फर्किने जनाए। 

यी त केही उदाहरण मात्र हुन्। उनीहरुजस्ता धेरै पुरुषहरुले असोज २ गतेदेखि सुरु भएको मलमास छल्नका लागि घर वा डेराबाटै बाहिरिएका छन्। मलमासमा विवाह गरेमा गृह सुख हुँदैन, गर्भाधान गरेमा बच्चा रोगी जन्मिने, नव विवाहित दाम्पत्तीका लागि अधिक मासमा अलग बस्नु राम्रो हुने शास्त्रीय मान्यता रहेकाले नवविवाहित पती पत्नीसँगै नबस्ने भएका हुन्। मलमासका लागि ३ देखि ७ दिन बार्नु पर्ने मान्यता रहेको खबर आजको अन्नपूर्ण पोस्टमा भवानी अधिकारीले लेखेका छन।

केही वर्ष पहिलो भने मलमास बार्नका लागि महिला माइत जाने गर्दथे। पतीपत्नी एउटै घरको धुरी र एउटै पधेंराको पानी पनि खान हुँदैन भन्ने पुरानो मान्यता थियो। तर, अहिले ती मान्यता परिवर्तन भएका छन्।

कामकाजी महिला बढेसँगै यी सबै मान्यता पुरा गर्न ती महिलालाई कठिन छ्। घरदेखि कार्यालयसम्मको जिम्मेवारी पुरा गर्नुपर्ने भएकाले पुरुष नै घर बाहिर बसेर सघाएमा सहज बन्ने लामिछानेको भनाइछ। 

यसवर्षको मलमास असोज २ देखि ३० गतेसम्म परेको छ। मलमासलाई अधिकमास पनि भनिन्छ। गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ । मलमासलाई पुरूषोत्तम मास पनि भनिन्छ। 

अधिकमासमा पुरूषोत्तममाहात्म्य वा कथा सुन्ने र दान गर्ने परम्परा छ। अधिक मासमा कुनै पनि शुभ कर्म वा साइ हुँदैनन् । यसै हुनाले मलमासभरी कुनै पनि शुभकार्य जुर्दैन। नित्य पाठपूजा गर्नलाई चाहि कुनै छेकथुन हुँदैन । मलमासले गर्दा यस वर्ष दसैं तिहार लगायतका पर्व पछि सरेका हुन् ।

तर, हाम्रा धर्मग्रन्थहरु हजारौं वर्ष पहिले ऋषि मुनिद्वारा लेखिएकाले सकारात्मक पक्षलाई हेरी आफ्नो मन, वचन, कर्म शुद्ध गर्न जरुरी रहेको ज्योतिष चक्रपाणी डु्रमेले बताए । पौराणिक मान्यता अनुसार कुनै ग्रह वा देवी देवताले यो मासको अधिपत्य लिन नमानेपछि श्रीकृष्णले यसको स्वामित्व ग्रहण गरेको हुनाले यसलाई पुरुषोत्तममास पनि भनिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad