छापा खबर


काठमाडौं र ललितपुरका ५ सय कोरोना संक्रमित सम्पर्कमा छैनन्, कतिलाई भाइरस सारिसके हाेलान्!

काठमाडौं र ललितपुरका ५ सय कोरोना संक्रमित सम्पर्कमा छैनन्, कतिलाई भाइरस सारिसके हाेलान्!

नेपालखबर
असोज २, २०७७ शुक्रबार २:२१,

राजधानीका दुई महानगरपालिकाका ५ सय जना कोरोना संक्रमित सम्पर्कविहीन छन्। पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको छ।

काठमाडौं महानगरपालिकाले जारी गरेको तथ्यांकमा ४ सय ५२ र ललितपुर महानगरपालिकाले दिएको तथ्यांकमा ७५ जनाले स्वाब परीक्षण गर्दा गलत फाराम भरेपछि उनीहरुको खोजीमा समस्या आएको हो।

दुई महानगरपालिकाभित्र टेकु अस्पताल र विभिन्न ल्याबमा परीक्षण गर्न स्वाब संकलन गर्दा गलत ठेगाना, मोबाइल नम्बर दिँदा समस्या भएको हो।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले परीक्षणकर्ताले गलत सूचना दिँदा समस्या आएको बताए। राजधानीका विभिन्न ल्याबमा परीक्षण गर्दा पोजिटिभ आएका संक्रमितले दिएको मोबाइल नम्बर र ठेगाना गलत हुँदा समस्या आइरहेको उनकाे भनाइ छ।

‘हाम्रो तथ्यांकमा ४ सय ५२ देखिएको छ, प्रहरीको सहयोगमा केहीलाई पक्राउ गरे पनि तथ्यांक घट्न सकेको छैन। परीक्षण गर्ने क्रममा काठमाडौं लेखेका हुन्छन्, मोबाइल नम्बर अर्कै दिन्छन्। परीक्षण गर्दा पोजिटिभ आएर सम्पर्क गर्दा स्विचअफ हुने गरेको छ,’ उनले भने।

कामपा कोभिड–१९ सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले आफ्नै कर्मचारी खटाएर ट्रेसिङ गर्दा पछि झुटो विवरण उल्लेख गर्ने संक्रमितलाई फेला पार्न नसकिएकाे बताए। उनले भने, ‘विवरणअनुसार संक्रमण देखिएको व्यक्ति नभेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य सेवा विभागमा विवरण पठाउँछौं।’

प्रहरीको सहयोगमा केहीलाई फेला पारेको हुन सक्ने उनकाे भनाइ छ। ‘संक्रमित भागेपछि उनीहरुले कतिलाई संक्रमणको जाखिम बढाउछन् भन्ने विषयमा कुनै तथ्यांक छैन। तैपनि हामीलाई यही विषयले सधैंजसो तनाव हुने गरेको छ,’ विभागीय प्रमुख कुँवरले भने।

कामपाले सार्वजनिक गरेको तथ्यांकमा त्यस्तो संख्या नखुलेको भनी उल्लेख गरेको छ। याे खबर आजको नेपाल समाचरपत्रमा ईश्वरराज ढकालले लेखेका छन्। 

स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वाथ्य कार्यालयले राजधानीमा स्वाब दिएर संक्रमित देखेपछि मोबाइल स्विच अफ गर्ने व्यक्तिको सम्पर्क गर्ने जिम्मा कामपालाई दिने गरेको छ। कामपाले फेला नपारेपछि सरकारले ती व्यक्तिलाई खोजी गर्न प्रहरीलाई जिम्मा दिने गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले शुरुआती चरणमा यस्ता घटना भएपछि अहिले कमी हुन थालेको बताए। उनले भने, ‘केहीलाई खोजी गर्न पत्राचार भएको थियो, केहीलाई पक्राउ गरी बुझाइसकेका छौं।’ तर कामपाको स्वास्थ्य विभागले अझै संक्रमण भएर भाग्नेको संख्या बढ्दो क्रममा रहेको दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad