घरमा स्यानिटाइजर। सवारी साधनमा स्यानिटाइजर। अफिसमा स्यानिटाइजर। खल्तीमै स्यानिटाइजर। जहाँ गयो त्यहीं स्यानिटाइजर।
सम्झनासाथ हातमा दलिरहने स्यानिटाइजरले के साँच्चै कोरोना भाइरस शरीरमा छिर्न रोकिरहेको होला? विज्ञहरू भन्छन्, ‘नक्कली र गुणस्तरहीन स्यानिटाइजरका कारण बरु मान्छेको स्वास्थ्यमा गम्भीर आघात पुगिरहेको छ।’
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले गरेको प्रारम्भिक अनुसन्धानमध्ये बजारमा प्रयोग भइरहेका स्यानिटाइजरमध्ये ४५ प्रतिशत प्रभावहीन (बरु हानिकारक) देखाएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा पवन तिमल्सिनाले लेखेका छन्।
२२ ब्रान्डको नमुना परीक्षण गर्दा ४५ प्रतिशतमा दुईखाले हानिकारक जीवाणु (ब्याक्टेरिया) लाई नष्ट गर्ने क्षमता नभएको पाएको छ। ती मानव स्वास्थ्यका लागि हानिकारकसमेत छन्।
औषधि उत्पादक संघका अनुसार देशभर ३ सयभन्दा बढी स्यानिटाइजर उद्योग छन्। तर, औषधी व्यवस्था विभागबाट जम्मा ४० वटाले मात्र सञ्चालन अनुमति लिएका छन्। ती सबैको अनुगमन एवं नियमन गर्न विभाग असमर्थ देखिएको छ।
विषाक्त स्यानिटाइजर छ्यापछ्याप्ती भएको गुनासोपछि बल्ल उसले ५ वटा उत्पादनलाई प्रतिबन्ध लगाएको छ। विभाग मातहतको राष्ट्रिय औषधि प्रयोगशालाले नमुना परीक्षण गर्दा ती अत्यन्त विषाक्त पाइएका थिए।
विभागका महानिर्देशक नारायण ढकालका अनुसार ती उत्पादनले स्यानिटाइजरमा ८३ प्रतिशतसम्म मेथानल प्रयोग गरेका छन्। जब कि मेथानलले मानिसको ज्यानै जान सक्छ।
मेथानलको प्रयोगले छालामा असर गर्नुका साथै यसको सेवनले स्नायु प्रणाली, मिर्गौला, आँखामा असर पार्ने विभागका महानिर्देशक ढकालले जानकारी दिए। ‘हामी बेलाबखत लोकल रक्सी पिएर मान्छे मरेको खबर सुन्छौं’, उनले भने, ‘त्यस्ता अधिकांश घटनाको मुख्य कारण मदिरामा मेथानलको प्रयोग हो।’
अनुसन्धानमा सहभागी नास्टकी माइक्रोबायोलोजिस्ट डा.टिष्टा प्रसाईका अनुसार अधिकांश स्यानिटाइजरमा इथानलको मात्रा कमी भएकाले प्रभावकारी नभएको हो। उनी भन्छिन्, ‘स्यानिटाइजरमा हुनुपर्ने रसायन इथानल हो। तर त्यसमा मेथानल प्रयोग भएपछि स्यानिटाइजर विषाक्त बन्छ।’
जीवाणु मार्न इथानलको मात्रा धेरै हुँदा प्रभावकारी हुने डा.प्रसाई बताउँछिन्। उनका अनुसार स्यानिटाइजर बनाउँदा विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार रसायनको परिमाण मिलाएर राख्नुपर्छ।
यो अनुसन्धानका क्रममा कोरोना भाइरसबाट बच्न बजारमा प्रयोग हुँदै आएका स्यानिटाइजरको जीवाणुलाई पारेको प्रभाव हेरिएको थियो। उक्त अनुसन्धान प्रतिवेदन प्रकाशित भने भएको छैन। डा. प्रसाईले थप नमुनाहरूमाथि अनुसन्धान भइरहेको बताइन्।
प्रतिक्रिया