ad ad

छापा खबर


कक्षा-१२ को परीक्षा चरणबद्ध रूपमा गर्ने तयारी

कक्षा-१२ को परीक्षा चरणबद्ध रूपमा गर्ने तयारी

नेपालखबर
भदौ २३, २०७७ मंगलबार २:३१,

कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ।

सातवटै प्रदेशका सरोकार पक्षसँग छलफल गरी सुझाबसहितको प्रतिवेदन सचिवालयले बोर्डमा बुझाएको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्।

बोर्डका एक अधिकारीका अनुसार प्रतिवेदनमा चरणबद्ध रूपमा परीक्षा सञ्चालनलाई पहिलो प्राथमिकता दिइएको छ । त्यसबाहेक ओपन बुक पद्धति अपनाउने, त्यसमा पनि कक्षा–११ को नतिजालाई केही आधार मान्ने गरी परीक्षा लिने र अनलाइनबाट प्रश्न पठाएर विद्यालयले परीक्षा लिने विकल्प प्रतिवेदनमा सुझाइएको छ।

अझै ढिलो गर्दा हिमाली भेगमा हिउँदमा परीक्षा सञ्चालन गर्न कठिन हुने र शैक्षिक सत्रसमेत जोखिममा पर्ने भएकाले छिटो गर्नुपर्ने सुझाब प्रतिवेदनमा छ।

केही सरोकारवालाले अवस्था सामान्य भएपछि परम्परागत रूपमै परीक्षा सञ्चालन गर्न सकिने सुझाब पनि दिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए।

तर, अवस्था कहिले सामान्य हुन्छ भन्ने यकिन नभएका कारण प्रतिवेदनले अन्य विकल्पलाई प्राथमिकता दिएको हो । ‘बोर्ड बैठकले कुन विकल्पलाई प्राथमिकता दिने भन्ने तय गरेर शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाउँछौँ,’ पौडेलले भने, ‘हामीले प्रस्ताव गर्ने हो, सरकारले गर्ने निर्णयअनुसार परीक्षा व्यवस्थापन गर्न तयार छौँ ।’

कोरोना जोखिम कम रहेका जिल्लाबाट सुरु गर्दै धेरै विद्यार्थी भएका विद्यालयसम्म पुग्ने गरी परीक्षा सञ्चालन गर्ने प्रस्तावलाई बोर्ड सचिवालयले बढी प्राथमिकता दिएको छ।

विद्यालय तहको अन्तिम परीक्षा भएको र त्यसले विश्वभर मान्यता पाउनुपर्ने भएकाले कक्षा–१२ को परीक्षालाई विश्वसनीय बनाउनुपर्ने दायित्व बोर्डको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .