छापा खबर


रअको टोली काठमाडौँमाः देउवाले दूताबासमै गएर चारघण्टा कुरा गरे

रअको टोली काठमाडौँमाः देउवाले दूताबासमै गएर चारघण्टा कुरा गरे

नेपालखबर
साउन ७, २०७६ मंगलबार १:५५,

नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ) को टोली सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रह्यो।

रअको टोलीले सत्तारुढ र प्रतिपक्षी दलका केही नेतासहित संसदका विभिन्न समितिका पदाधिकारीसँग सामूहिक र छुटाछुट्टै भेटवार्ता ग¥यो। यो खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार राति भेटवार्ता गरेका रअ अधिकारीले सोमबार विहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको हो।

रअ प्रमुख समान्तकुमार गोयल नेतृत्वको पाँच सदस्यीय टोली आइतवार दिउँसो काठमाडौं आएपछि भेटवार्तामा व्यस्त छ।

भेटघाटका लागि नेता देउवा स्वयं लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए भने प्रचण्डलाई भेट्न रअका अधिकारी प्रचण्ड निवास खुमलटार पुगेका थिए।

दूतावास स्रोतका अनुसार आइतवार साँझ ७ बजेर ४० मिनेटमा दूतावास पुगेका देउवा करिव चार घन्टापछि राति ११ बजेर ४० मिनेटमा बाहिरिएका थिए।

देउवासँगको भेटमा काँग्रेस सांसदद्वय डा.अमरेशकुमार सिंह र विनोद चौधरी पनि सहभागी थिए।

रअ अधिकारीको सम्मानमा दूतावासले आइवार साँझ दूतावास परिसरमा रात्री भोज दिएको थियो । सोही जमघटमा देउवा सहितको टोली दूतावास पुगेको हो।

रअ प्रमुख गोयल सहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ।

देउवासँगको भेटवार्ता अघि राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका पदाधिकारी हायल होटल पुगेर रअ अधिकारीसँग सामुहिक भेटघाट गरेका थिए।

सोमबार विहान खुमलटार पुगेको रअ टोलीले नेकपा अध्यक्ष प्रचण्ड निवासमा साढे दुई घन्टा भन्दा बढी समय विताएको छ।

विहान साढे आठ बजे शुरु भएको भेटवार्ता १० बजेर ५० मिनेटसम्म चलेको दूतावास स्रोतले जनाएको छ।

सत्तारुढ दलभित्र सत्ता नेतृत्व हेरफेर हुने वहस चलिरहेका बेलाको यो भेटवार्तालाई नेकपा पदाधिकारीले अर्थपूर्ण रुपमा लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad