छापा खबर


अहिलेसम्मकै छिटो कुद्ने सवारीसाधन हाइपरलुप बनाउँदै नेपाली ठिटो

अहिलेसम्मकै छिटो कुद्ने सवारीसाधन हाइपरलुप बनाउँदै नेपाली ठिटो

नेपालखबर
साउन ७, २०७६ मंगलबार १:५४,

उन्नाइसौं शताब्दीमा आविष्कार भएको रेल र बीसौं शताब्दीको आविष्कार हवाईजहाजका भरमा चलिरहेको दुनियाँलाई एक्काइसौं शताब्दीले त्योभन्दा तीव्र गतिको केही दिनेवाला छ ? ‘जरुर!’ वैज्ञानिकहरू भन्दै छन्, ‘अबको केही वर्षमै हाइपरलुप सेवामा हाजिर हुनेछ।’

जहाजभन्दा सुरक्षित र कुनै पनि रेलभन्दा छिटो कुद्ने गरी परिकल्पना गरिएको हाइपरलुपको तीव्र गतिबारे आइतबार मात्रै अमेरिकाको लसएन्जलसमा विश्वव्यापी प्रतियोगिता भएको थियो, जसको विजेता समूहमा एक नेपाली युवा पनि सामेल छन्।

जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखमा कम्प्युटेसनल मेकानिक्सका विद्यार्थी दिनेश पौडेल र उनका सहपाठी टोलीले सबभन्दा छिटो कुद्ने हाइपरलुपको पोड (रेलजस्तै कुद्ने डब्बा) बनाएर संसारभरका प्रतिस्पर्धीलाई उछिनेको हो।

‘हाम्रो एक वर्षसम्मको अहोरात्र मिहिनेतले फल दिएको छ,’ प्रतिस्पर्धा जितेपछि पौडेलले फोनमा भने, ‘सपनाले आकार लिएको छ र मलाई असाध्यै गर्व अनुभव भइरहेको छ।’ यो खबर आजको कान्तिपुरमा घनश्याम खड्काले लेखेका छन्।

लसएन्जलसस्थित स्पेस एक्स भन्ने हाइपरलुप कम्पनीले गरेको विश्वव्यापी प्रदर्शनमा पौडेल सम्मिलित समूहले बनाएको उक्त पोड प्रतिघण्टा ४ सय ५७ किलोमिटर गतिले कुदेको थियो । प्रतिघण्टा हजार किमिसम्म कुद्न सक्ने अनुमान गरिएको हाइपरलुप परीक्षणकै चरणमा छ।

‘मापनअनुसार यो हालसम्मकै उच्च गतिको आवागमनको साधन हुनेछ,’ पौडेलले भने।

सुरुङजस्तो सिधा ट्युबमा तीव्र गतिले कुद्ने यन्त्र हो, हाइपरलुप । जमिनभन्दा माथि र हावाको सम्पर्कभन्दा बाहिर हुने भएकाले यो सुरक्षित र ज्यादा गतिको यातायात साधन सावित भएको छ ।

‘बस वा रेललाई हावाको चाप अनि जमिनको घर्षणले गर्दा ज्यादै छिटो कुदाउन सकिन्नँ,’ पौडेल भन्छन्, ‘तर, हाइपरलुपमा चाहिँ त्यो दुवै नहुने हुनाले अति तीव्र गतिमा कुद्न सक्छ, जो प्रमाणित भइसकेको छ।’

सन् २०१२ मा अमेरिकी वैज्ञानिक इलन मस्कले सामान्य अवस्थाका रेलहरूभन्दा दसौं गुणा बढी कुद्ने यातायात साधन बनाउन सम्भव भएको अवधारणा सार्वजनिक गरे, जसलाई उनले नाम दिए हाइपरलुप।

‘यो नयाँ अवधारणा भएकाले उनले खुला रूपले लगानीकर्तालाई यसमा आकर्षित गर्न पेटेन्ट राइट खुला गरेर थप अनुसन्धानका लागि बाटो खोलिदिए,’ उनले भने, ‘अनि आफैंले पनि एक कम्पनी खडा गरेर यसको विकासमा प्रशस्त समय र पैसा खर्च गर्न थाले।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad