हरियो तरकारको मूल्यले बजार तातिरहेका बेला व्यवसायीले ताजा मासुको मूल्य पनि बढाएका छन्।
पोल्ट्री तथा मासु व्यवसायीले बाढीपहिरो र दानामा भन्सार वृद्धि भएको बहानामा मूल्य बढाएका हुन्।
नेपाल माछामासु व्यवसायी संघ, पोल्ट्री व्यवसायी मञ्च भ्याली कोल्ड स्टोरका अनुसार मूल्य १० देखि १५ प्रतिशतसम्म मूल्य बढेको छ।
‘कच्चा पदार्थको मूल्य बढ्यो, बर्डफ्लूको हल्लाले किसान घाटामा गए,’ पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष शंकर कँडेलले भने, ‘उत्पादन लागत नउठेपछि किसानले चल्ला हालेका छैनन् । यसले गर्दा कुखुराको मूल्य १० देखि १५ प्रतिशतले बढेको छ ।’ मञ्चका अनुसार मुलुकभर दैनिक १० लाख कुखुरा खपत हुन्छ । अहिलकै अवस्थामा उत्पादन ४० प्रतिशत घटेको उनले बताए ।
व्यवसायीका अनुसार कुखुराको माग बढ्दो छ । भन्सार दर वृद्धिले उत्पादन लागत नउठेको व्यवसायीहरू बताउँछन् । यो खबर आजको कान्तिपुरमा राजु चौधरीले विस्तृत रुपमा लेखेका छन्।
भ्याली कोल्ड स्टोरका सञ्चालक सक्षम घिमिरे दानाका लागि कच्चा पदार्थमा मुख्यतः भारतमै निर्भर हुनुपर्छ । अधिकाश मकै, भटमास भारतबाट आयात हुन्छ । १० प्रतिशत भने तेस्रो मुलुकबाट आयात हुन्छ । ‘मकैमा १ प्रतिशतबाट वृद्धि गरेर ५ प्रतिशत र भटमास, पिनामा १ प्रतिशतबाट ८ प्रतिशत पुर्याएको छ,’ उनले भने, ‘भन्सार वृद्धिले पनि मूल्यमा असर परेको छ ।’
उनका अनुसार जिउँदो बोइलर कुखुरामा ५० रुपैयाँ बढेर २ सय ५० रुपैयाँ पुगेको छ । खुद्रामा प्रतिकिलो २ सय ६० रुपैयाँमा बिक्री हुन्छ । एक महिनाअघि २ सय ८५ रुपैयाँमा बिक्री भएको तयारी मासुको होलसेलमै ३ सय ५० रुपैयाँ पुगेको छ । खुद्रा व्यवसायीले प्रतिकिलो ३ सय ७० देखि ३ सय ८० रुपैयाँसम्म असुल्दै आएका छन् ।
‘होलसेलभन्दा खुद्रामा प्रतिकिलो २० रुपैयाँदेखि २५ रुपैयाँ फरक पर्छ,’ घिमिरेले भने । ब्रोइलर कुखुरा बनेपा, काठमाडौं, चितवन, दाङ, सलार्ही, मकवानपुर, कास्कीमा उत्पादन राम्रो हुन्छ । यीबाहेक अन्य जिल्लामा पनि उत्पादन भइरहेको छ । हाल तराईका जिल्लासँगै मध्यपहाडी क्षेत्रमा पनि कुखुरा पालेका छन् । पानी परेका कारण कतिपय ठाउँमा अझै ट्र्याक मात्रै खुलेको छ । बाटो खराबका कारण पनि कुखुराको गाडी सहजै भित्रिन सकेको छैन ।
‘तराई क्षेत्रमा डुबान पर्यो । उपत्यकामा आउने कुखुरा केही मात्रामा तराई पनि खपत भएको छ,’ घिमिरेले भने, ‘मध्यपहाडबाट ल्याउन ढुवानी सेवा राम्रो भएन, जसले गर्दा मूल्य बढेको छ ।’ घिमिरेका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै करिब ३ लाख ५० हजार किलो कुखुराको मासु खपत हुन्छ । सहज आपूर्ति नहुँदा एक लाख किलो घटेको जनाएको छ । साउनमा मुख्यतः मासु–माछाको उपभोग कम हुन्छ । ‘यस्तो अवस्थामा मूल्य घट्नुपर्नेमा थप बढेको छ,’ उनले भने, ‘मूल्य औसतमा ५० रुपैयाँ बढेको छ ।’
सरकारले क्वारेन्टाइनमा कडाइ गरेपछि खसीबोकाको आयात ह्वातै घटेको छ । भारतलगायत मुलुकबाट आयातित खसीबोका भन्सार विन्दुरक्वारेन्टाइनमा परीक्षण ९गुणस्तरको प्रमाण० चेकजाँच भएपछि आयात घटेको हो ।
व्यवसायीका अनुसार खसीबोकाको आयात ६० प्रतिशतले घटेको छ ।उपत्यकामा दैनिक १२ सयसम्म खसीबोका खपत हुन्छ । अहिले पर्याप्त छैन, जसले गर्दा खसीको मासुको मूल्य बढेको बताए । ‘६ महिनाअघि किलोको १ हजार रुपैयाँ थियो । त्यसपश्चात् मूल्य दुई पटक बढेको छ,’ उनले भने । संघका अनुसार अधिकाश खसीबोका भैरहवा, कपिलवस्तुका नाकाबाट आयात हुन्छ ।
यसअघि भन्सार एजेन्टले २र३ सय परीक्षण गरेपछि ७र८ सय खसीबोका यत्तिकै छिराउने गर्थे । अहिले रोकिएको हो । मुख्य उद्देश्य रोग नभित्रियोस् भन्ने हो । क्वारेन्टाइन ऐन फागुन ३ गतेदेखि कार्यान्वयन गरिएको थियो । ऐनअनुसार सम्बन्धित मुलुकबाट स्वस्थ भएको कागजपत्र बनाउनुपर्छ । कागजपत्रबाट निर्यातयोग्य, रोगमुक्त र रोगको खोप लगाएको प्रमाणित हुन्छ ।
पशुसेवा विभागका अनुसार मुलुकमा बर्सेनि करिब ४० लाख खसीबोका खपत हुन्छ, जसमध्ये साढे तीनदेखि ५ लाख खसीबोका आयात हुन्छ । व्यवसायी भने स्वदेशी उत्पादनले माग धान्न नसकेको बताउँछन् । त्यसको बहानामा व्यवसायीले चर्को मूल्य असुल्छन् । ‘यसअघि प्रतिक्यारेट २ सय ५० रुपैयाँमा तोकिएको थियो,’ पूर्वअध्यक्ष कँडेलले भने, ‘सातायता ३५ रुपैयाँ बढेर २ सय ८५ रुपैयाँ मूल्य पुगेको छ ।’

प्रतिक्रिया