ad ad

छापा खबर


त्रिविका सहप्राध्यापक कांग्रेस केन्द्रीय कार्यालयका सचिव

त्रिविका सहप्राध्यापक कांग्रेस केन्द्रीय कार्यालयका सचिव

नेपालखबर
भदौ २०, २०७७ शनिबार ०:४,

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक नै कांग्रेसको पार्टी कार्यालयमा कर्मचारीको रूपमा काम गरेको पाइएको छ।

कांग्रेस कार्यालयमा मुख्यसचिवपछिको वरीयतामा रहेका सचिव प्रदीप पराजुली पाटन संयुक्त क्याम्पसमा समाजशास्त्र विषयका सहप्राध्यापक हुन्।

उनी कांग्रेसको केन्द्रीय कार्यालयमा लामो समयदेखि सचिवका रूपमा कार्यरत रहेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले केही समयअघि त्रिविमा राजनीतिक हस्तक्षेप भएको भन्दै विज्ञप्ति नै निकालेको थियो । तर, सरकारको कदमको विरोध गर्ने कांग्रेसको केन्द्रीय कार्यालयमै प्राध्यापक सचिवको रूपमा क्रियाशील छन् ।

आंशिकबाहेकका त्रिविका सबै शिक्षकले शैक्षिक संस्थामा आंशिक रूपमा पढाउनसमेत केन्द्रीय कार्यालयबाट स्वीकृति लिनुपर्छ । तर, पराजुलीलाई कांग्रेस कार्यालयमा सचिवका रूपमा काम गर्न क्याम्पसबाट सिफारिस भएको छैन र केन्द्रले समेत स्वीकृति दिएको छैन ।

त्रिविका अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णु खनालले अहिलेसम्म कसैलाई पनि पार्टी कार्यालयमा काम गर्न स्वीकृति नदिएको बताए ।

त्रिविका प्राध्यापकले अन्यत्र पढाउन तथा गैरसरकारी संस्थामा आंशिक समय काम गर्न कार्यरत संस्थाबाट समेत अनुमति लिनुपर्छ । पराजुली कार्यरत रहेको पाटन संयुक्त क्याम्पसले समेत उनलाई सिफारिस गरेको छैन ।

क्याम्पसप्रमुख लक्ष्मणसिंह कुँवरले कसैले पार्टी कार्यालयमा काम गरेको जानकारी नभएको र आफू आएपछि सिफारिससमेत नगरेको बताए । क्याम्पसप्रमुख कुँवरले भने, ‘म क्याम्पस चिफ भएपछि पार्टी कार्यालयमा काम गर्न सिफारिस गरेको छैन, त्यसबारेमा मलाई जानकारी पनि छैन । पार्टी कार्यालयमा काम गर्नु नैतिकताको कुरा हो।’

०५६ तिर पार्टटाइमका रूपमा क्याम्पस पढाउन थालेका पराजुलीले केही समयपछि सहप्राध्यापकमा नाम निकालेका थिए । तर, कांग्रेस फुटेको वेला ०५९ मा कांग्रेस प्रजातान्त्रिकतर्फ कार्यालयसचिव भए ।

त्यसपछि ०६२÷६३ को जनआन्दोलनको समय उत्कर्षमा पुग्दा भने पराजुली सक्रिय देखिएनन् । राजाको प्रत्यक्ष शासनकाल भएकाले प्राध्यापकले राजनीति पनि गरेको देखिँदा जागिर गुम्ने भयले उनी दुई वर्षजति भने सक्रिय नभएको कांग्रेस स्रोतको भनाइ छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .