कोरोना संक्रमितको शव व्यवस्थापनका लागि तयार रहन नरबहादुर गुरुङले सूचना पाए।
नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत गुरुङ त्यसपछि आफ्नो टोलीसति व्यारेकबाट भरतपुर अस्पतालतर्फ लागे।
शव नदेख्दासम्म उनमा अलिअलि डर थियो। अस्पतालको कोभिड आईसियूको ढोकामा पुगेर शव निकाले। जब शव नजिक पुगे, तब डर र त्रास हरायो। कतै केही भइहाल्छ कि भन्ने डरलाई जिम्मेबारीले जित्यो।
निर्धक्कसाथ उनले शवलाई प्लास्टिकले बेरेर बाहिर निकाले। त्यसपछि तोकिएको स्थानमा शव व्यवस्थापन गर्न लागे। शवलाई अन्तिम सलामी दिई गाडेर फर्किए।
३८ वर्षीय गुरुङ पाँचवटा शव व्यवस्थापनमा सहभागी भइसकेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चितवनबाट अनिल ढकालले लेखेका छन्।
‘आफन्तले सदगद् गर्न पाउँदैनन्। त्यतिबेला मै आफन्त रहेछु भन्ने सोचाइ हुन्छ,’ उनी भन्छन्, ‘दुःखद घटना भए पनि यस्तो महामारीमा जिम्मेबारी वहन गर्न पाउँदा गर्व महसुस भयो।’
संक्रमितका आफन्त पनि उनीहरु नै हुन्, मलामी पनि। जब शवलाई व्यवस्थापन गर्न जान्छन्, त्यतिबेला उनीहरु भावुक हुन्छन्।
मानिसको त्यस्तो मरण जहाँ न आफन्त हुन्छन् न त मलामी। भरतपुर ब्यारेकमा कतिखेर खबर आउला भनेर शव व्यवस्थापनको टोली तयारी अवस्थामा रहन्छ।
प्रतिक्रिया