ad ad

छापा खबर


एसिड पीडित मुस्कानले प्रधानमन्त्रीसँग राखिन् यस्ता प्रस्ताव

एसिड पीडित मुस्कानले प्रधानमन्त्रीसँग राखिन् यस्ता प्रस्ताव

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ०:४९,

वीरगञ्ज निवासी मुस्कान खातुनको जीवनमा ठीक एक वर्षअघि ठूलो सङ्कट आयो । एसिड प्रहारबाट उनका दुवै हात, छाती र अनुहारको दाहिने भाग जले ।

उनलाई २०७६ भदौ २० गते एसिड छ्यापिएको थियो । एक वर्षको अवधि निकै पीडामा बिते पनि खातुन अहिले साहस बोकेर केही गर्ने अठोटका साथ अगाडि बढेकी छन्।

मुर्छित अवस्थाबाट बचेर उनी प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना पीडा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष भन्न सक्ने भएकी छन्। यो खबर आजको गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका छन्।

तर खातुनको घाउ केही निको भए पनि अनुहारका दाग र मनभित्र गडेको पीडा भने ताजै छ । आफ्ना बुवा रसुल अन्सारी र उज्ज्वलविक्रम थापासहित मङ्गलबार अबेर प्रधानमन्त्री निवास पुगेकी खातुनले प्रधानमन्त्रीसँग आफ्ना भनाइ निर्धक्क साथ राखिन्।

प्रधानमन्त्रीसँगको भेटमा उनले एसिड प्रहार गर्नेलाई कडा सजाय हुनुपर्ने र कानुन कमजोर भएकाले एकदम कडा बनाउन माग गरिन्। ‘प्रधानमन्त्रीज्यू, यो एसिड प्रहारको पीडा चाहिँ हामीले जीवनभर सहनुपर्ने तर अपराधी ठहरिएका चाहिँ खुलेआम हिँडिरहेका छन्, हाम्रो जस्तो पीडा अन्य दिदी–बहिनीले अब भोग्नु नपरोस्, अभिभावकले पनि सहनु नपरोस्।’

एसिड पीडितको सबै उपचार खर्च सरकारले दिनुपर्ने र अपराधी ठहर भएकालाई आजीवन काराबासको सजाय हुनुपर्छ भन्दै खातुनले एसिड पीडितले निःशुल्क पढ्न र श्रम गर्न चाहेमा रोजगारीको अवसर उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गरिन्।

प्रधानमन्त्रीले के भन्नुभयो भन्ने जिज्ञासामा खातुनले भनिन्, ‘प्रधानमन्त्रीले मेरो अनुहार र दाग नियालेर हेर्नुभयो, मेरो एउटा कान नभएको देख्नुभयो, त्यो देखेपछि हाम्रो पीडाको अनुभूति पनि गर्नुभयो । प्रधानमन्त्री चिन्तित भएको मैलै पाएँ र कडा कानुन बनाउने वचन दिनुभयो, कडा कानुन बन्ने विश्वास मैले लिएकी छु।’

उनलाई एसिड छ्याप्ने वीरगञ्ज–२, छप्कैयाका १७ वर्षीय सम्साद आलम र एसिड प्रहारका योजनाकार १७ वर्षीय माजिद आलमलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलायो । कोरोना सङ्क्रमणका कारण सम्साद आलम अहिले कारागारबाट बाहिर आइसकेका छन् भने माजिद मात्रै काराबासमा छन् ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .