छापा खबर


कोरोना नियन्त्रण गर्न देशभर कतै बन्दाबन्दी, कतै निषेधाज्ञा

कोरोना नियन्त्रण गर्न देशभर कतै बन्दाबन्दी, कतै निषेधाज्ञा

नेपालखबर
भदौ ४, २०७७ बिहिबार १:३१,

व्यक्तिले सजगता नअपनाइदिँदा देशभर कोरोना सङ्क्रमित र मृत्यु हुनेहरूको सङ्ख्या दैनिक बढ्दो क्रममा छ। मुख्यगरी सहरी क्षेत्रका सडकमा मानिसको चहलपहल जथाभावी छ।

कुशे औँसीको बहानामा बुधबार सडकमा ओइरिएकाहरूलाई रोक्न स्थानीय प्रशासनलाई निकै हम्मे परेको थियो।

दैनिक परीक्षण गरिरहने र उत्तिकै सङ्ख्यामा सङ्क्रमित थपिरहने तर नागरिकका तर्फबाट सजगता नअपनाइँदा यो क्रम तत्कालै रोकिने अवस्था देखिँदैन । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकृत्ति अधिकारीले लेखेका छन्।

पछिल्लो समय कडाइका साथ बन्दाबन्दी वा निषेधाज्ञाको उपाय अपनाउन स्थानीय प्रशासन वा पालिकालाई बाध्यात्मक अवस्था सिर्जना हुन पुगेको छ । कानुन उल्लङ्घन गर्नेहरू बढ्न थालेपछि चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई दिनभरि आफैँ गस्तीमा हिँड्न थालेका छन्।

कोरोना सङ्क्रमणबाट प्रदेश १ को तराईका झापा, मोरङ र सुनसरी सबैभन्दा बढी प्रभावित छन् र तीमध्ये मोरङलाई गम्भीर स्थलका रूपमा लिइएको छ । मोरङमा कोरोनाका कारण हालसम्म ११ जनाको मृत्यु भइसकेको छ भने सङ्क्रमितको सङ्ख्या एक हजार १४१ पुगिसकेको छ ।

भारतसँगको खुला सीमाका कारण प्रदेश २ मा कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्दै गएको छ । यस प्रदेशमा बुधबारसम्म सात हजार ८८३ जना कोरानाबाट सङ्क्रमित छन् । आठवटै जिल्लामा निषेधाज्ञा जारी गरिए पनि त्यसको पूर्ण पालना भएको छैन । प्रदेशका स्वास्थ्य निर्देशक हरिश्चन्द्र साहले सावधानी नअपनाउँदा सङ्क्रमण फैलिन थालेको बताए।

पछिल्लो समय बाग्मती प्रदेशमा कोरोना सङ्क्रमण बढ्दो छ । नेपालमा पहिलोपटक सङ्क्रमित पुष्टि भएको र सङ्क्रमणकै कारण ज्यान गुमाउने यसै प्रदेशका थिए । कोरोना सङ्क्रमणबाट बाग्मती प्रदेशमा सोमबार साँझसम्ममा १९ जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या हालसम्म एक हजार ७६५ पुगेको छ।

झन्डै कोरोनामुक्त अवस्थामा पुग्न थालेको प्रदेश ५ मा पछिल्लो समय पुनः जोखिम उच्च हुँदै गएको छ । यस प्रदेशका १२ जिल्लामध्ये बाँके, रुपन्देही र दाङ सबैभन्दा जोखिममा छन् ।

कर्णाली प्रदेशमा गत जेठ ५ गतेदेखि कोरोना सङ्क्रमण देखिएयता सङ्क्रमित दिनहुँजसो देखा पर्दै गएका छन् । मङ्गलबारसम्म कर्णालीमा सङ्क्रमितको सङ्ख्या दुई हजार ८७ पुगेको छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म चार हजार ९०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये महिला एक हजार २२० जना र पुरुष तीन हजार ६८३ छन् । उपचारपछि निको भएर चार हजार २१८ जना घर फर्किएका छन् । कोरोनाले हालसम्म नौ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेहरूमा कैलाली, बझाङ, बाजुरा र अछामका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad