छापा खबर


काठमाडौं उपत्यका फेरि लकडाउन गर्ने विषयमा छलफल

काठमाडौं उपत्यका फेरि लकडाउन गर्ने विषयमा छलफल

नेपालखबर
भदौ २, २०७७ मंगलबार ०:३०,

कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन्।

कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफैँ सचेत र जागरुक नहुँदा उपत्यकामा जोखिम बढेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता सहायक जिल्ला अधिकारी तुल्सीराम पौडेलले बन्दाबन्दी वा निषेधाज्ञाको विषयमा छलफल भइरहेको जानकारी दिए।

‘अहिलेकै अवस्थामा बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्न जरुरी छैन,’ उनले भने, ‘मङ्गलबारबाट समूहगत हिँड्डुल, सामाजिक तथा भौतिक दूरी कायम राख्ने कार्यमा कडाइ गरिनेछ। सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य गरिएको छ।’

सवारी सञ्चालनमा जोर–बिजोर, मास्क र सेनिटाइजरको सही प्रयोग, होटल तथा रेस्टुराँ, चिया पसल, पार्टी प्यालेस, पसल, सुपरमार्केट, सार्वजनिक स्थानमा सर्वसाधारणको उपस्थिति तथा भीडभाडलाई यसअघि नै पूर्ण रूपमा निषेध गरिएको छ।

तर उपत्यकावासी मास्कसमेत प्रयोग नगरी सडकमा निस्कने, बिहे, जन्म दिन, धार्मिक चाडपर्वका नाममा आफन्त साथीभाइ जम्मा पारी समूह गत भोज भतेर र पार्टी गर्न थालेपछि कोरोना सङ्क्रमणको समस्या थपिएको स्थानीय सुरक्षा अधिकारीको भनाइ छ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रण प्रतिकार्य योजनाअनुसार लागू गरिएको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड सर्वसाधारणले पालना गरे नगरेको तीनवटै जिल्ला प्रशासन कार्यालयबाट नियमित अनुगमनसमेत हुने गरेको छ।

अनुगमनबाट अधिकतर नागरिकले लापरबाही तथा हेलचक्रयाइँ गरेको पाइएको छ। महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सम्झाइबुझाइ गर्दा पनि अटेर गर्नेका कारण कोरोना फैलिएको बताए।

जोखिमको बेला सडकमा सुरक्षाकर्मी खटाएर नियन्त्रण गर्छु भन्दा पनि सम्भव छैन, शान्तिसुरक्षा तथा कोरोना रोकथाम प्रतिकार्य सुरक्षामा खटिएका सुरक्षाकर्मी नै सङ्क्रमित बन्दै गएको बेला आम नागरिकले आफ्नो सुरक्षाका लागि घरमै बन्दाबन्दी बस्नुबाहेक अन्य विकल्प नभएको उनी बताउँछन्।

उपत्यकामा प्रतिदिन झण्डै १५० जनाको हाराहारीमा कोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएकाले बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्नुपर्ने सुझाव सुरक्षा निकायको छ। काठमाडौँ उपत्यकाको नाका तथा टोल ‘सिल’ गरेर मात्र नियन्त्रण सम्भव छैन। उनले भने, ‘केही दिन आन्तरिक सुरक्षामा कडाइ गर्नुपर्ने हुन्छ।’

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमण देखिएका स्थानीयवासीलाई अति जरुरी कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरे। अटेरका कारण सङ्क्रमण बढेको स्पष्ट पार्दै उनले स्थानीय तहले पनि निषेधाज्ञा जारी गर्न सक्ने बताए। याे खबर आजको गोरखापत्र दैनिकमा छापिएकाे छ।

महानगरपालिकाले सङ्क्रमण देखिएका टोल, गल्ली र बस्तीमा सिल गर्न तथा मास्क प्रयोग र सरसफाइबारे सर्वसाधारणलाई सचेत गराउन निर्देशन दिएको छ। सङ्क्रमणको अवस्था हेरी महानगरपालिका, नगरपालिका र वडामा निषेधाज्ञा जारी गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad