भरतपुर महानगरपालिकाका बासिन्दाले कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मीलाई नै मानसिक तनाव दिएका छन्।
शुक्रबार उनीहरू ‘आइसोलेसन होम, कोरोना संक्रमित’ लेखिएको ब्यानर बोकेर डाक्टरकै घरमा टाँस्न गएका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा चितवनबाट विवेक पोखरेलले लेखेका छन्।
चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेलाई आइतबार कोरोना संक्रमण देखियो । सोमबार गरिएको परीक्षणमा उनकी पत्नीमा पनि पोजेटिभ देखियो।
त्यसपछि परिवारसहित भरतपुर-४ त्रिचोकको आफ्नै घरमा सुरक्षित रूपमा बसिरहेका उनलाई शुक्रबार बिहान भने स्थानीय बासिन्दाले झन् मानसिक तनाव दिए । ‘होम आइसोलेसनमा बसिरहेको छु, तर टोल विकास समितिको टोली घरमा स्टिकर टाँस्न आयो,’ डा. बगालेले भने।
उनले टोल विकास समितिको टोलीलाई सम्झाउनुपरेको बताए।
‘नटाँस्नुस्, म आफैँ सुरक्षित तरिकाले बसेको छु । भित्रबाट चाबी लगाएको छु, हामी गेटबाट बाहिर नै आएका छैनौँ, आफ्नो सम्पर्कमा रहेका सबैलाई आफैँले फोन गरेर खबर गरेको छु,’ उनले भने, ‘टोल विकास समितिमार्फत निर्णय नै गरेर ब्यानर टाँस्न आएका रहेछन् । मैले निर्णय भएको भए टाँस्नुस् भनेँ । कमजोर मान्छे यो संक्रमणले आफैँ आतंकित हुन्छ, आत्महत्यासम्म गरेका घटना पनि छन्, तपाईंहरूजस्तै मान्छे भएर यो घटना घटेको होला भनेपछि उनीहरू झस्किए।’
त्यसपछि उनीहरू ब्यानर नटाँसी फर्किएको डा.बगालेले बताए । घरमा स्टिकर टाँस्नुपर्ने कुरा वडाध्यक्ष हरिप्रसाद आचार्यले पनि फोनमा भनेको उनले बताए।
समाजको यस्तो प्रवृत्तिले संक्रमितलाई मानसिक रूपमा झनै कमजोर बनाउने डा.बगाले बताउँछन् । यस घटनाले समाजमा संक्रमितले व्यहोर्नुपरेको सामाजिक बहिष्कारको पीडा दर्शाउने उनको बुझाइ छ।
‘घरमा आफैँ खाना पकाएर परिवारलाई ख्वाउँदै आएको छु । तरकारी चाहियो भने नजिकको पसलवाला दाइको नम्बर राखेको छु, फोन गर्ना साथ गेटमा ल्याएर छोडिदिनुहुन्छ । तर, कार्यक्रम नै आयोजना गरिएकोजस्तो ब्यानर बोकेर आउँदा संक्रमितलाई समाजले बहिष्कार गरेको महसुस हुन्छ,’ उनले भने, ‘मलाई त केही भएन, तर रोगको विषयमा ज्ञान नभएकाहरूलाई के हुन्छ? जिम्मेवार व्यक्तिहरूबाट हुने यस्ता हर्कतकै कारण कतिपय संक्रमितहरू आत्महत्या गर्नसम्म बाध्य भएका छन्।’
समाजमा कोरोना संक्रमितहरूको पनि बाँच्न पाउने अधिकार भएको भन्दै उनले सके हौसला दिन र नसके मनोबल गिर्ने किसिमको कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरे।
Shares

प्रतिक्रिया