छापा खबर


पाँच दिनमै नेकपामा नयाँ ‘सिनारियो’ देखिनेछ : प्रधानमन्‍त्री ओली

पाँच दिनमै नेकपामा नयाँ ‘सिनारियो’ देखिनेछ : प्रधानमन्‍त्री ओली

नेपालखबर
साउन २९, २०७७ बिहिबार ०:४७,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्।

पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ।

अन्नपूर्ण मिडिया नेटवर्कको एपीवान एचडी टेलिभिजनमा बुधबारबाट सुरु भएको कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’ का लागि पत्रकार भूषण दाहाललाई अन्तर्वार्ता दिँदै नेकपा अध्यक्ष ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो देखिने उल्लेख गरे। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापको छ।

‘म कसैप्रति आरोप लगाइरहेको छैन। अस्ति पत्रकार सम्मेलन भयो। मैले कुनै जवाफ पनि दिइनँ। तपाईं देखिरहनु भएको छ, अरू साथीहरू बोलिरहनु भएको छ। म चुप लागेर बसेको छु। त्यसकारण मेरो सम्पूर्ण प्रयास पार्टी मिलाउने, पार्टीलाई एकताबद्ध राख्ने, फुट्न नदिने नै हुन्छ। कतिपय साथीहरू फुटे फुट्छ भन्दै पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार हौं भन्ने खालका अभिव्यक्ति दिइरहनु भएको छ। मैले त्यसको कुनै जवाफ दिएको छैन। म के भन्न चाहन्छु भने पार्टी फुट्दैन। र, फुटाउन कसैले सक्दा पनि सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘हप्ता–दस दिन होइन, हप्ताभन्दा यतै ५ दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो। भोलि १ भनेर गन्न सुरु गर्नुहोला।’

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले भने बुधबारै काठमाडौंको थापागाउँमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग पार्टीभित्र देखा परेका विषयमा सुझावका लागि भन्दै छलफल गरेका थिए। अर्कातिर दुई अध्यक्षबीच संवाद गराउन र विवाद टुंग्याउन दोस्रो पुस्ताका नेताहरूले भित्री रूपमा छलफल पनि बाक्लो बनाएका छन्।

महासचिव विष्णु पौडेलले बुधबारै अध्यक्ष दाहाललाई खुमलटार पुगेर भेट गरेका थिए। उपाध्यक्ष वामदेव गौतमले पनि वरिष्ठ नेता माधव नेपाललाई भेटेका थिए। शंकर पोखरेल, जनार्दन शर्मालगायत नेताहरूले दुवै अध्यक्षसँगको छलफल बाक्लो बनाएका छन्।

उनीहरूका छलफलबारे केही नखुले पनि प्रधानमन्त्रीले अबको ५ दिनमा ‘सिनारियो नयाँ देखिने’ बताएपछि छलफल सकारात्मक रहेको अनुमान लगाउन थालिएको छ।

ओलीले आफू तत्कालीन एमालेको बहुमतबाट निर्वाचित अध्यक्ष भएको र पार्टीमा तत्कालीन दुई पार्टीका अध्यक्ष महाधिवेशनसम्मका लागि अध्यक्ष रहने गरी व्यवस्था गरिएको प्रष्ट पारे। उनले ५ वर्ष सरकार पनि यही निरन्तर रहने बताए।

‘हामीबीच प्रतिबद्धता थिए। हामीले बीचमा थप केही सम्झौताहरू गर्‍यौं। सहमतिहरू थप गर्‍यौं, बनायौं। मेरो तर्फबाट कुनै माग छैन। जो थप सहमतिहरू भए ती प्रचण्डजीले नै भन्नु भएकोले भएका सहमतिहरू हुन्। मेरो तर्फबाट प्रस्ताव गरिएको सहमति होइन। त्यो उहाँले पनि पटकपटक भन्नुभएको छ। हामीले के भन्यौं भने ५ वर्ष नै यो सरकार रहन जरुरी छ,’ प्रधानमन्त्री ओलीले अन्तर्वार्तामा भने, ‘अहिले सरकारको निरन्तरता चाहियो। स्थायित्व चाहियो। जनताको आकांक्षा पनि त्यही छ। कहिल्यै ५ वर्ष सरकार टिकेन। टिक्न दिइएन। यो खालका प्रवृत्तिहरू उठ्न, झांगिन दिनु हुँदैन र सफल हुन दिनु हुँदैन।’

प्रधानमन्त्री भएर पनि गुट चलाउने भन्ने प्रश्नमा ओलीले भने, ‘म माओवादीलाई समेत एउटै धारमा ल्याउने मान्छेले गुट चलाएको देख्नुभयो? गएको चुनावमा एउटा गुट चलाएको देख्नुभयो कि मेचीकाली अभियान चलाएको देख्नुभयो? मेचीकाली जनसागर उर्लेको देख्नु भएन? देश ड्राइभ गर्न हिँडेको मान्छे सानो गुट चलाएको देख्नुभयो? म संसदीय दलको नेता पनि निर्वाचन जितेर आएको हुँ। अध्यक्ष पनि लडेर भएको हुँ। मभन्दा अघि त लड्ने चलन थिएन नि।’

६५ वर्षकै उमेरमा आफूले राजनीतिबाट सन्न्यास लिन खोजे पनि परिस्थितिले नदिएको ओलीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad