छापा खबर


यस्तो अन्योलमा छन् स्वास्थ्य मन्त्रालयका अधिकारी, कतिलाई जाँच्ने? कसलाई जाच्ने?

यस्तो अन्योलमा छन् स्वास्थ्य मन्त्रालयका अधिकारी, कतिलाई जाँच्ने? कसलाई जाच्ने?

नेपालखबर
साउन २७, २०७७ मंगलबार १:२८,

असार १९ गते ४ हजार ४ सय ८३ जनाको पीसीआर परीक्षण गरियो। ७ सय ४० जनामा संक्रमण पाइयो। यो १६.५ प्रतिशत हो।

जब कि साउन १९ गते १० हजार ७ सय ६८ जनाको जाँच गरियो। यसमा २.१ प्रतिशत अर्थात् २ सय २४ जनामा कोरोना पोजेटिभ आयो।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरू अचेल यी दुई रिपोर्टलाई अघि राखेर पीसीआर परीक्षण रणनीति बनाउन खोज्छन्। अन्योलमा पर्छन्। कारण– थोरैलाई जाँच्दा धेरै संक्रमित भेटिन्छन्, धेरैलाई जाँच्दा थोरै। र, आफू–आफूमा सोध्छन्– अब कस–कसलाई जाँच्ने ? कतिलाई जाँच्ने?

पीसीआर परीक्षणको दायरा व्यापक बनाउन सरकारलाई दबाब छ। ‘धेरैलाई जाँच्दैमा संक्रमित भेटिने होइन रहेछ’, उक्त परिणामलाई उदाहरण दिँदै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भन्छन्, ‘कसलाई जाँच्नु अत्यावश्यक छ भन्ने पहिचान पहिला गर्नुपर्ने रहेछ।’ यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

त्यो पहिचान गर्न पनि त्यति सजिलो छैन। अहिलेसम्म सरकारका तर्फबाट भएका परीक्षण सम्भावितकै हो। तर, परिणाम तल–माथि पर्ने गरेको छ। ‘पोजेटिभ रिपोर्ट २ प्रतिशभन्दा कममा आयो भने परीक्षणको खर्च खेर गएको मान्नुपर्ने हुन्छ’, स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविज्ञ डा.सुरेश तिवारी यसबारे प्रस्ट पार्छन्, ‘१० प्रतिशभन्दा माथि गयो भने व्यापकता दिनुपर्ने ठान्नुपर्छ। त्यसैले परीक्षणमा अति जोखिमकालाई पहिलो प्राथमिकता दिनुपर्छ।’

प्राथमिकता कसलाई दिने त? जनस्वास्थ्यविद् प्राडा. शरद वन्त क्वारेन्टाइनमा रहेकाहरूको परीक्षण गरिसक्नुपर्नेमा जोड दिन्छन्। ‘परीक्षण कसलाई गरिरहेका छौं भन्नेले अर्थ राख्छ। बढी जोखिममा रहेकालाई परीक्षण गरिरहेका छौं कि, कसलाई गरिरहेका छौं?’ उनी प्रश्न गर्छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार, हाल पीसीआर परीक्षण प्रतिदस लाखमा १५ हजार ४ सय ९३ जनामा भइरहेको छ। २३ हजार ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइनमा भित्र र बाहिर रहेका व्यक्तिलाई परीक्षण गरिरहेको जनाएको छ। बाहिरका व्यक्तिलाई परीक्षण गराउँदा राज्यको स्रोत साधनको दुरुपयोग भएको हुन सक्ने शंका विज्ञहरूको छ।

‘परीक्षणको दायरा बढाउनुपर्छ भनेको घरघरमा गएर परीक्षण गर्नु भनेको होइन। उच्च जोखिममा रहेका व्यक्ति छुट्नु हुँदैन भन्ने हो’, डा। वन्तले भने, ‘पछिल्लो समय संक्रमण वृद्धि भइरहँदा पहुँचवाला र जोखिम बाहिरका व्यक्तिको पनि परीक्षण गरेको पाइएको छ।’

सरकारले हालसम्म ४ लाख ५२ हजार २ सय ३६ पीसीआर परीक्षण गरेको छ। तीमध्ये २३ हजार ३ सय १० जनाको कोरोना पोजेटिभ देखिएको छ। ४ लाख ८ हजार ९ सय २६ जनामा नेगेटिभ। स्वास्थ्य मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १० हजार ७ सय ५९ जना छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad