सात महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको उपचार र रोकथामका लागि हालसम्म कुनै औषधि र खोपको आधिकारिक घोषणा भएको छैन।
यो रोगको उपचारका लागि विभिन्न औषधि सहयोगी भएको दाबी गरिएको छ तर हालसम्म कुनै निश्चित औषधिको औपचारिक र आधिकारिक अनुमोदन भएको छैन।
आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेको समाचार अनुसार कोभिड-१९ को उपचारमा ‘रेमडेसिभिर’, ‘डेक्सामिथासोन’ लगायत अन्य एन्टिभाइरल औषधि कतिपय देशले प्रयोगमा ल्याएका छन्।
यो संक्रामक रोगका रोकथामका लागि सुरक्षित र प्रभावकारी खोप निर्माणमा विश्वव्यापी प्रतिस्पर्धा सुरु भएको छ । विश्वका करोडौंलाई संक्रमण र लाखौंको ज्यान लिएको यो रोगविरुद्धको खोप निर्माण गर्न औषधि उत्पादक कम्पनीका लागि इज्जत र प्रतिष्ठाको विषय बनेको छ।
मुनाफाका हिसाबले पनि यो उत्तिकै आकर्षक छ। यो खोप निर्माणको दौडमा विश्वका प्रतिष्ठित औषधि कम्पनीमात्र होइन, ससाना बायोटेक फर्म पनि छन्।
यो शताब्दीकै सबैभन्दा ठूलो संक्रामक रोग मानिएको यो रोगको खोप कहिलेसम्म बन्ला भन्ने आम चासो छ भने नेपालजस्तो अति कम विकसित देशमा खोप आइपुग्न कति समय लाग्ला भन्ने जिज्ञासा अर्कोतिर छ।
यो सातासम्मको प्रगतिलाई समीक्षा गर्दा खोप निर्माणको तेस्रो तथा अन्तिम चरणमा विश्वका पाँच औषधि उत्पादक कम्पनीहरू पुगेका छन् । त्यसमा अमेरिकी कम्पनी मोर्डना, चिनियाँ कम्पनी सिनोभ्याक, जर्मन कम्पनीको सहकार्यमा अमेरिकी कम्पनी फाइजर, अक्सफोर्ड विश्वविद्यालय र फ्रान्सेली कम्पनी सानोपी रहेका छन्।
नेपालले अहिलेदेखि लबिङ गर्नुपर्छ
संक्रामक रोग विशेषज्ञ अनुप सुवेदी कोरोना भाइरसको खोप नेपालमा सकेसम्म छिटो ल्याउन अहिलेदेखि नै गृहकार्य र लबिङ गर्नुपर्ने ठान्छन्।
‘निम्न आय भएका देशहरूका लागि खोपको वितरणको अन्तर्राष्ट्रिय प्रयास समग्र रूपमा हुन्छ,’ डा.सुवेदी भन्छन्, ‘त्यस्तो बेला नेपालले कसरी अन्तर्राष्ट्रिय ध्यान आफूतर्फ तान्न सक्छ, त्यो महत्वपूर्ण रहन्छ।’
नेपालले आफूसँग राम्रो सम्बन्ध भएका देश तथा निकायसँग सम्पर्क र छलफल सुरु गर्नुपर्नेमा उनी जोड दिन्छन् । ‘त्यसका लागि अहिलेदेखि नै गृहकार्य र तयारी थाल्नु आवश्यक हुन्छ,’ सुवेदी भन्छन्, ‘नेपालले भ्याक्सिन उपलब्ध हुँदा कसरी वितरण गर्ने, कसलाई सबैभन्दा पहिले दिने भन्ने विषय समेटेर खोप वितरण योजना बनाएर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा जानकारी गराउँदा एउटा माहोल बन्छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम बजारमा कोरोना खोप आउन कम्तीमा पनि एक वर्ष लाग्ने तर्क गर्छन्।
‘खोपको वितरण कुनै देशलाई प्राथमिकताभन्दा पनि समान व्यवहारका आधारमा हुन्छ,’ उनी भन्छन्, ‘हामी विश्व स्वास्थ्य संगठन र खोप वितरण गर्ने अन्तर्राष्ट्रिय एलायन्स गाभीसँग निरन्तर सम्पर्क र छलफलमा छौं।’ निम्न आय भएका राष्ट्रमा आधारभूत खोपको पहुँच पु(याउन सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा गाभीको स्थापना भएको हो ।
विश्व स्वास्थ्य संगठनले पनि खोपको न्यायोजित वितरणका लागि गृहकार्य थालेको बताएको छ। अघिल्लो साताको मंगलबार आयोजित एक वेबिनारमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) की प्रमुख वैज्ञानिक डा.सौम्य स्वामिनाथनले भ्याक्सिनको विकास भइसकेपछि त्यसको ‘न्यायोचित र निष्पक्ष वितरण’ अत्यन्त महत्वपूर्ण हुने बताएकी थिइन्।
‘उच्च आय भएका मुलुकले भ्याक्सिन पाउने र निम्न आय भएकाले कुरेर बस्नुपर्ने स्थिति हुनेछैन । हामीले यसका लागि गृहकार्य गरी संयन्त्रको निर्माण गर्दैछौं, जसले खोप कसले र कहिले पाउने भन्ने कुरालाई थप प्रस्ट पार्नेछ,’ उनको भनाइ थियो।
Shares
प्रतिक्रिया