ad ad

छापा खबर


भदौ १५ देखि नियमित पठनपाठनको तयारी

भदौ १५ देखि नियमित पठनपाठनको तयारी

नेपालखबर
साउन १२, २०७७ सोमबार १:४,

आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित गर्ते तयारी सुरु भएको छ।

सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।

सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने र त्यसपछि नियमित पठनपाठन गर्ने विगतको अभ्यास भएकाले यसपटक सोही प्रक्रिया अवलम्बन गर्ने आन्तरिक तयारी गरिएको छ । साउनसम्मको अवस्थालाई विश्लेषण गरेर यस विषयमा अन्तिम निर्णय गर्ने योजना बनाइएको छ।

सरकारले यसअघि भदौ १ गतेबाट विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि खुला गर्ने निर्णय गरिसकेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले विगतमा सरकारले विद्यार्थी भर्नाको तयारीका लागि १५ दिन समय दिने र त्यसपछि नियमित पठनपाठन सुरु गर्ने गरेकाले यसपटक पनि त्यो सम्भावना रहेको बताए। ‘कोरोनाको सङ्क्रमण नबढेको अवस्थामा भदौ मध्यबाट पठनपाठनको सम्भावना देखिएको छ,’ उनले भने।

भदौ १५ गतेबाट विद्यालय तहको पठनपाठन नियमित सुरु गर्न सकिए आगामी चैत वा वैशाखसम्म पठनपाठन पूरा गर्न सकिने सम्भावना छ। चैतमा सामान्यतया शैक्षिक सत्र सकिने भए पनि यसपटक चैत वा वैशाखसम्ममा शैक्षिक सत्र पूरा गर्न सकिने केन्द्रका निर्देशक गौतमले बताए।

पछिल्लो शैक्षिक सत्रको एक महिना अध्यापन गराउन सकिए समस्या नहुने उनको भनाई छ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एनप्याब्सन) का केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले भदौ १ गतेबाट विद्यार्थी भर्ना, शैक्षिक क्रियाकलाप तथा परीक्षा सञ्चालनसमेत खुला गरिएपछि भदौ १५ बाट नियमित पठनपाठनमा जानु सान्दर्भिक नै हुने बताए।

तर सामाजिक दूरी भने कायम गर्न सक्नुपर्ने र त्यसलाई विशेष रूपमा व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष टीका पुरीले विद्यालय खुल्ने कुरा सङ्क्रमणमा भर पर्न सक्ने उल्लेख गर्दै परिस्थितिको आकलन गरेर निर्णय लिनु उपयुक्त हुने बताए। सङ्क्रमण नभएको स्थानमा विद्यालय खोल्नु सान्दर्भिक नै हुने उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .