छापा खबर


नेताहरु होहल्ला गर्दै हेलिकप्टरमा गए, विस्थापितले न लत्ताकपडा पाए, न खाद्यान्न

नेताहरु होहल्ला गर्दै हेलिकप्टरमा गए, विस्थापितले न लत्ताकपडा पाए, न खाद्यान्न

नेपालखबर
असार २८, २०७७ आइतबार २३:५६,

वर्षासँगै बाढीपहिरोले जताततै विस्थापित हुन थालेपछि गाउँठाउँमा हेलिकोप्टर उडाउने प्रतिस्पर्धा चलेको छ।

विपतको वेला पनि चुनावी सभाजस्तै फरक–फरक हेलिकोप्टर लगेर जाने प्रतिस्पर्धाले राज्यकोष दोहन भएको छ, तर विस्थापितले भने उद्धार र राहत नपाएको गुनासो गरिरहेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

सिन्धुपाल्चोकको जम्बु क्षेत्रमा बुधबार राति पहिरो आएपछि बिहीबार बिहानै सभामुख अग्नि सापकोटा सेनाको हेलिकोप्टर लिएर सो क्षेत्र गएका थिए । मौसम खराब भएकाले धुलिखेलमा केही घन्टा रोकिएर उनी चढेको हेलिकोप्टर घटनास्थलतर्फ गएको थियो।

बागमती प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री शालिकराम जमकट्टेल र उद्योगमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल पनि हेलिकोप्टरमा गएका थिए । कांग्रेस नेता मोहन बस्नेत पनि हेलिकोप्टर लगेर गएका थिए ।

‘जम्बु क्षेत्रका बासिन्दालाई स्थलमार्गबाटै बाह्रबिसे पु¥याउन सकिने अवस्था थियो, तर नेताहरूका हेलिकोप्टर आउँदै छन् भनेर घाइतेलाई पनि पर्खाइएको थियो, मौसम खराब भएकाले नेताका हेलिकोप्टर निर्धारित समयमा पुगेनन्, त्यसैले घाइतेको उपचारमा अनावश्यक ढिलाइ भयो,’ जम्बु क्षेत्रका बासिन्दाको भनाइ छ।

उता, बिहीबार सिन्धुपाल्चोकमा एकैपटक पाँच हेलिकोप्टरले आकाश थर्काए पनि शुक्रबारदेखि विस्थापितको पीडा मात्र सुन्न सकिन्छ । हेलिकोप्टरमा गएका नेताहरू हेलिकोप्टरमा नै फर्किए । पाखामा पाल टाँगेर बसेका विस्थापितले न लत्ताकपडा पाएका छन्, न खाद्यान्न ।

विस्थापितहरू केहीले आफन्तको घरमा शरण लिएका छन् भने केही सरकारी भवन, होटेल र खाली ठाउँमा पाल टाँगेर बसिरहेका छन् । बाढीपहिरोले बगाएका १४ घरका सहित जम्बुबाट एक सय २० जना आफन्तकहाँ शरण लिएर बसेका छन्।

आफन्तजनले खानाको जोहो गरे पनि लत्ताकपडा नभएको पीडितहरूले बताएका छन् । ‘लत्ताकपडा सबै पहिरोमा बगे । पाँच दिनदेखि एकसरो लुगामै छौँ,’ विस्थापित अर्जुन श्रेष्ठले भने, ‘फेर्ने लुगा नभएकाले घरबाहिर निस्कनै समस्या भएको छ ।’ पहिरोमा पुरिएर जम्बुमा दुईजनाको मृत्यु भएको थियो । बेपत्ता १६ जना अझै फेलापरेका छैनन्।

पहिरोमा परी विस्थापित भएका जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँका ३२ परिवार स्थानीय भगवती आधारभूत विद्यालयमा बसिरहेका छन् । आफन्त गुमाएकाका परिवार विद्यालयमै किरिया बसेका छन् ।

पहिरोमा परी शुक्रबार बेपत्ता भएका १२ मध्ये ११ जनाको शव भेटिइसकेको छ, एकजना अझै हराइरहेका छन् । आइतबार कमला सार्कीको शव भेटिएको हो । उनको दाहसंस्कार गर्न बाँकी छ । अन्य १० जनाको सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरूका परिवारजन विद्यालयमै किरिया बसेको स्थानीय शिक्षिक तीर्थराज बोहराले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad