छापा खबर


विज्ञ भन्छन्- मुखबाट होइन, नाकबाट लिएको स्वाब भरपर्दो

विज्ञ भन्छन्- मुखबाट होइन, नाकबाट लिएको स्वाब भरपर्दो

नेपालखबर
असार २५, २०७७ बिहिबार ३:१४,

कोरोना संक्रमण भए नभएको पत्ता लगाउने कसरी? यसको जवाफ आउँछ, ‘स्वाब प्रयोग गरी पीसीआर प्रविधिबाट परीक्षण।’

स्वाब परीक्षणमा पनि मुलुकपिच्छे फरक-फरक तरिका अपनाएको देखिन्छ। नेपालको सन्दर्भमा विज्ञ भन्छन्, ‘ओरोफेरेन्जेल (मुखभित्र घुसाएर निकालिएको स्वाब) नभई नेजोफेरेन्जेल (नाकभित्र घुसाएर निकालिएको स्वाब) नै परीक्षण गरौं।’

अमेरिकाको टेक्सासस्थित सोनिक रेफरेन्स ल्याबको क्लिनिकल मोलिकुलर बायोलोजी विभागका निर्देशक डा.विजय ढकाल नेजोफेरेन्जेलबाट निकालिएको स्वाब परीक्षण उपयुक्त हुने बताउँछन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

‘घाँटीको स्वाब संकलनबाट संक्रमण पत्ता लगाउने सेन्सिटिभिटी (क्षमता) सापेक्षमा न्यून हुन्छ। नेजोफेरेन्जेल स्वाब संकलन गर्नुपर्छ। त्यो केही हदसम्म अप्ठेरो हुन्छ तर भरपर्दो र विश्वसनीय हुन्छ’, उनी भन्छन्, ‘सिंहदरबारमा सांसदहरूलाई लाइन लगाएर आँ गर्न लगाई जुन ढंगले स्वाब संकलन गरियो त्यो ओरोफेरेन्जेल स्वाब (घाँटीको स्वाब) संकलनको उदाहरण हो।’

अझ नेजोफेरेन्जेल र ओरोफेरेन्जेल दुवै नमुना संकलन गर्न सके परीक्षणको संक्रमण पत्ता लगाउने क्षमता अधिक हुने उनी बताउँछन्। ‘ओरोफेरेन्जेल स्वाब संकलनको अर्को नकारात्मक पक्ष नमुना संकलक स्वास्थ्यकर्मी आफैं संक्रमित हुन सक्ने जोखिम हो’, उनी भन्छन्।

डा.ढकालको भनाइसँग टेक्सासकै सोनिक हेल्थ केयर क्लिनिकल प्याथोलोजी ल्याबोरेटरिज प्रयोगशालाका सुपरभाइजर द्रोण पाण्डेय सहमत देखिन्छन्। ओरोफेरेन्जेलभन्दा नेजोफेरेन्जेल स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट बढी विश्वसनीय हुने उनी बताउँछन् छ।

विज्ञका अनुसार कोरोना परीक्षणमा घाँटीको स्वाबको सेन्सिटिभिटी तुलनात्मक रूपमा न्यून हुन्छ। कोरोना भाइरसले स्वासप्रश्वास प्रणालीमा असर गर्छ।

भाइरस श्वासप्रश्वास प्रणालीको केन्द्रबिन्दु नाक हुँदै छिरेर फोक्सोसम्म पुग्ने हो। डा. ढकालका अनुसार श्वासप्रश्वासको तल्लो भाग अर्थात् फोक्सो र श्वासप्रश्वास नलीबाट उत्पत्ति हुने खकारमा मुख र नाकभन्दा बढी सेन्सिटिभिटी हुन्छ। यो परीक्षण गर्दा अझ बढी भरपर्दो रिपोर्ट आउने उनी सुनाउँछन्।

‘त्यसपछि नेजोफेरेन्जेल स्वाब उपयुक्त हुन्छ’, उनी भन्छन्, ‘नेजोफेरेन्जेल पनि लिन नसके ओरोफेरेन्जेल स्वाब हो।’

अध्ययनले नेजोफेरेन्जल स्वाबको सेन्सिटिभिटी ७० र ओरोफेरेन्जेलको लगभग ५५ प्रतिशत रहेको देखाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad