छापा खबर


ओलीसँगको वार्तामा प्रचण्डले आफ्नै टिम रोजेपछि नेपाल समूह असन्तुष्ट

ओलीसँगको वार्तामा प्रचण्डले आफ्नै टिम रोजेपछि नेपाल समूह असन्तुष्ट

नेपालखबर
असार २३, २०७७ मंगलबार ३:२२,

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँगको वार्तामा आफूनिकट दोस्रो तहका नेता मात्र संलग्न गराएपछि वरिष्ठ नेता नेपाल र उनको समूह असन्तुष्ट बनेको छ।

नेपालको असन्तुष्टि र आशंकापछि ओली र प्रचण्डले सोमबारबाट दोस्रो तहका नेताहरूविनै छलफल अघि बढाउने समझदारी गरेका छन्।

आइतबारको छलफलमा महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्मासहित छलफलमा बसेका उनीहरूले छलफलको गम्भीरताका कारण सहयोगी नेताहरूलाई तत्काल सामेल नगर्ने निर्णय गरेका हुन् ।

पौडेल र पोखरेल ओली तथा शर्मा र पुन प्रचण्डनिकट नेताहरू हुन् । यसअघि उनीहरूलाई राखेर सहमतिको गृहकार्य गर्न अनौपचारिक कार्यदल बनाइएको बताइए पनि नेपालको असन्तुष्टिपछि त्यस्तो कार्यदल नबनेको भन्दै प्रचण्डको सचिवालयले आइतबार राति खण्डन गरेको थियो ।

‘दुई अध्यक्ष मात्र बसेर खुसुखुसु गोप्य निर्णय गर्ने, अरूले पालना गर्ने यसपटक हुँदैन । हामीलाई विश्वास छ, यसपटक प्रचण्ड कमरेडले पनि त्यस्तो गर्नुहुन्न, अहिले ६ जना सचिवालय सदस्यहरू एकातिर, तीनजना अर्कोतिर हुनुहुन्छ । हामी त दुईतिर यस्तो विभाजनको स्थिति नहोस् भन्ने चाहन्छौँ,’ नेपालनिकट स्थायी समिति सदस्य रघुजी पन्तले भने, ‘त्यसैले नेता–कार्यकर्ता सबैको चित्त बुझ्ने गरी, पार्टी एकता जोगाउने गरी निर्णय हुनुपर्छ र स्थायी समितिले पनि स्वामित्व ग्रहण गरेर निर्णय हुनुपर्छ । यो कुरा सबै नेताले बुझ्नुभएको छ भन्ने मलाई लागेको छ ।’

दुईजना मात्र लिएर जाने कुरा सन्तुलित नभएको भन्दै नेपालले आइतबारै प्रचण्डसँग आपत्ति जनाएका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्। तर, यसको अर्थ उहाँहरूबीच अविश्वास छ भन्ने नभएको नेपालनिकट अर्का स्थायी समिति सदस्यले बताए ।

‘कार्यदल नबनाइएको प्रचण्डले प्रस्ट पारिसक्नुभएको छ, उहाँहरू मात्र होइन, सचिवालयका ६ जना नेताहरू बलियोसँग एक ठाउँमा हुनुहुन्छ, स्थायी समितिको बहुमत पनि एक ठाउँमा छ । त्यसैले सबै काम सन्तुलन मिलाएरै गर्नुपर्छ भन्ने कुरा उहाँले बुझ्नुभएकै छ,’ उनले भने ।

सोमबार बालुवाटारबाट फर्किएलगत्तै ओलीसँगको पछिल्लो छलफलबारे प्रचण्डले नेपाललाई ‘ब्रिफिङ’ गरेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad