छापा खबर


असार २४ पछि को बन्ला आईजीपी?

असार २४ पछि को बन्ला आईजीपी?

नेपालखबर
असार २०, २०७७ शनिबार १:३६,

प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकाश लिँदै छन्। २८औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय शैलेश थापा क्षत्री र हरिबहादु पाल छन्।

उनीहरू दुवै जना २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्। दुवै एआईजीका कार्यप्रकृति र कार्यशैली फरक छन्। दुवै जना विवादित देखिएका छैनन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुवास गोतामेले लेखेका छन्।

एआईजी क्षत्री तीन वर्षयता केन्द्रमै विभिन्न जिम्मेवारीमा काम गरिरहेका छन्। पालले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा २ नम्बर प्रदेश प्रहरी कार्यालय, विशेष ब्युरोको नेतृत्व सम्हाले। उनले एआईजी भएपछि मानव कार्य एवं अपराध अनुसन्धान विभागको नेतृत्व गरिरहेका छन्।

क्षत्रीले डीआईजी हुँदा प्रहरी केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व गरेका थिए। एआईजी भइसकेपछि उनी मानव स्रोतसाधन र प्रशासन विभागको नेतृत्वमा छन्।

कमान्ड कन्ट्रोल, नीति तथा योजना तर्जुमा र संगठन सुदृढीकरणमा दुवै जना सक्षम रहेको बुझाइ प्रहरी मुख्यालयकै अधिकृतको छ। प्रहरी संगठनले २०७० मंसिरयता चार जना नेतृत्व पायो। उनीहरू डीआईजीबाट सिधै आईजीपीमा बढुवा भए।

भावी आईजीपीका लागि प्रमुख चुनौती भनेको संगठनको खस्किँदै गएको साख जोगाउनु हो। संगठनभित्र चरम राजनीतीकरण छ, खासगरी सरुवा–बढुवामा। आईजीपी ‘सेरेमोनियल’ भइदिने र नीति निर्णयमा सरकारले हस्तक्षेप गर्दै जाने हो भने नेतृत्व परिवर्तनले खासै अर्थ राख्ने देखिँदैन। भ्रष्टाचारमा शून्य सहनशीलतालाई मुख्य आधार बनाएको प्रहरीले अझै आफूमा निखारता ल्याउन सकेको देखिँदैन।

एआईजी क्षत्री २८ वर्ष लामो सेवा अवधिपछि प्रहरी नेतृत्वमा पुग्ने अवसर आएको बताउँछन्। एकले अर्काको तेजोबध नगर्ने उनको भनाइ छ।

‘प्रतिस्पर्धीका हिसाबले म र हरिबहादुर पाल दुवै दाबेदार हौं। हामी दुवैसँग प्रहरी संगठनमा सेवा गरेको लामो अनुभव छ। कमान्ड कन्ट्रोलदेखि चुनौतीपूर्ण कार्यमा हामी अब्बल नै छौं’, उनी भन्छन्, ‘वर्तमान आईजीपीलाई छाडेर यसअघिका प्रहरी नेतृत्वमा पुग्न देखिएका अनेक चलखेलबारे हामीलाई ज्ञात छ। संगठन आईजीपी एक्लैले हाँक्ने होइन। नेतृत्व एउटाले लिन्छ, त्यति मात्रै हो। टिममा रहेर काम गर्नुपर्छ। विगतमा नेतृत्व परिवर्तन हुन तीन महिना बाँकी छँदै तँछाडमछाड गर्ने, एकले अर्काको तेजोबध गर्ने र दौडधुपलाई अवसरका रूपमा लिने कार्यबारे पनि हामी जानकार छौं।’

पाल आफ्ना व्यक्तिगत र व्यावसायिक मित्र भएको उनको भनाइ छ। आईजीपी नियुक्ति नितान्त सरकारले गर्ने निर्णय भएकाले आफूले दाबी गर्नु स्वाभाविक भएको उनी बताउँछन्।

एआईजी पाल आफूहरूबीच कुनै कटुता नरहेको बताउँछन्। संगठनको नेतृत्व पविर्तनको समयमा को बन्ला भन्ने कौतुहल हुनु स्वाभाविक भएको उनको भनाइ छ।

‘सरकारको निर्णयमा म अडिग रहन्छु। क्षेत्री मेरा मित्र मात्रै होइनन् लामो सयम एउटै संगठनमा रहेर काम गरिसकेको परिवारभित्रका सदस्य हुन्। हामीमा कटुता छैन’, उनी भन्छन्, ‘हामी दुईमध्येबाटै एक जनालाई सरकारले आईजीपीमा नियुक्ति गर्ने हो। त्यसकारण म आफ्नो दाबीलाई स्वाभाविक ठान्छु। हामी दुवैसँग प्रहरी हेडक्वार्टर कसरी चल्छ भन्ने ज्ञान छ। कार्य प्रकृतिको हिसाबले एआईजीबाट आईजीपी पाउनु संगठनको लागि गौरवको कुरा पनि हो।’

सरकारले जसलाई आईजीपी बनाए पनि एकले अर्कोलाई सहयोग गरी मिलेरै जाने योजना रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad