ad ad

छापा खबर


असार अन्तिमसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार पुग्ने सरकारी प्रक्षेपण

असार अन्तिमसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार पुग्ने सरकारी प्रक्षेपण

नेपालखबर
असार ४, २०७७ बिहिबार ४:३०,

स्वास्थ्य मन्त्रालयले असार अन्तिमसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ४० हजार पुग्न सक्ने प्रक्षेपण गरेको छ।

मन्त्रालयले गरेको आन्तरिक प्रक्षेपणमा संक्रमितको संख्या धेरै बढ्ने भएकाले त्यहीअनुसारको तयारी थाल्नुपर्ने औँल्याएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

मन्त्रालयले तयार पार्दै गरेको ‘कोभिड–१९ को महामारी व्यवस्थापनका लागि भौतिक स्रोतको पहिचान तथा जनशक्ति व्यवस्थापन मार्गदर्शन’ मा ४० हजार संक्रमितमध्ये ८० प्रतिशत अर्थात् ३२ हजार संक्रमितमा कुनै लक्षण र असर नदेखिने भन्दै उनीहरूलाई होम क्वारेन्टाइन वा होम आइसोलेसनमै राखिने उल्लेख छ ।

त्यस्तै, संक्रमितको १५ प्रतिशत अर्थात् ६ हजारलाई अस्पताल केयर र आइसोलेसन बेड चाहिन सक्ने अनुमान गरिएको छ । ५ प्रतिशत अर्थात् दुई हजारलाई भेन्टिलेटरसहितको सेवा चाहिने आकलन गरेको छ ।

मन्त्रालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने व्यक्तिहरूमध्ये संक्रमणको लक्षण देखिएकालाई आइसोलेसनमा व्यवस्थापन गरिनेछ ।

त्यस्तै, स्थलगत नाकाबाट आउने संक्रमणको लक्षण नभएकालाई होल्डिङ गर्ने तथा सम्बन्धित स्थानीय तहसम्म पुर्‍याउने काम सम्बन्धित प्रदेश सरकारको समन्वयमा नेपाली सेनाले गर्ने र संक्रमण देखिएका व्यक्तिलाई आइसोलेसनमा व्यवस्थापन गरिनेछ ।

संक्रमणको सामान्य लक्षण नदेखिएको, तर पहिलादेखि नै कुनै दीर्घरोगबाट ग्रसित रहेकालाई स्वास्थ्यकर्मीको निगरानीसहित सामूहिक आइसोलेसनको व्यवस्था स्थानीय तहले गर्ने जनाइएको छ ।

होम क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका व्यक्तिसँग समन्वय, सम्पर्क गर्न तथा आवश्यक स्वास्थ्य सल्लाह दिने स्वास्थ्यकर्मी व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने, मध्यम र जटिल लक्षण भएका बिरामीको उपचारको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्ने मार्गनिर्देशनमा उल्लेख छ ।

आगामी १५ असारदेखि दैनिक १० हजारको पिसिआर परीक्षण गर्ने तयारी छ । कोरोना संक्रमितको पहिचान गर्नकै लागि परीक्षणको दायरा फराकिलो बनाउन लागिएको हो । आगामी कात्तिकसम्म ६ लाखदेखि १० लाखसम्म मानिसको परीक्षण गर्ने तयारी छ ।

मास्कको प्रयोग, भिडभाडबाट टाढै रहने, नियमित साबुनपानीले हात धुने गरेमा कोरोना संक्रमण फैलिनबाट रोकिने मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .