छापा खबर


दिनहुँको आन्दोलन र भीडभाडले कोरोना संक्रमण भयावह हुने जोखिम

दिनहुँको आन्दोलन र भीडभाडले कोरोना संक्रमण भयावह हुने जोखिम

नेपालखबर
जेठ ३१, २०७७ शनिबार ०:४२,

सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदम प्रभावकारी नभएको भन्दै सरकारविरुद्ध भीडभाडसहित प्रदर्शन गर्दा जोखिम निम्तने र स्थिति भयावह हुन सक्ने चेतावनी जनस्वास्थ्यविज्ञहरूले दिएका छन्।

सडकमा धेरै व्यक्ति जम्मा गरेर कार्यक्रम गर्दा कोरोना संक्रमण दर अत्यधिक बढ्न सक्नेतर्फ उनीहरूले सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएका खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

यस्ता प्रदर्शनले सहरी क्षेत्रमा बसोबास गर्ने नागरिकमा कोरोना संक्रमण फैलन सक्ने भयसमेत बढ्न थालेको भन्दै विज्ञहरूले प्रदर्शन रोक्न र त्यस्ता प्रदर्शनमा नजानसमेत सुझाव दिएका छन् । उनीहरूले लगातारको प्रदर्शनले संक्रमण नियन्त्रण बाहिर जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनीहरूले आन्दोलनको मोडालिटी परिवर्तन गर्नसमेत आन्दोलनमा उत्रिएका नागरिकलाई सुझाव दिएका छन् । कुनै व्यक्तिलाई कोरोना भाइरस संक्रमण पुष्टि भए श्वासप्रश्वासको माध्यमबाट कोरोना भाइरस फैलिने भन्दै आन्दोलनको स्वरुप परिवर्तन गरेर सरकारलाई दबाब दिन सकिने जनस्वास्थ्य विज्ञहरूको सुझाव छ।

हाल राजधानीलगायत देशका विभिन्न स्थानमा दैनिक सरकारविरुद्ध सडकमै प्रदर्शनकारी उत्रिएर आन्दोलन गर्दै आएका छन्। सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले संक्रमितको संख्या बढ्दै गएकाले भौतिक दूरी कायम गर्नु नै अहिलेको उपयुक्त विकल्प भएको बताए।

उनका अनुसार भौतिक दूरी कायम गर्न सकियो भने संक्रमण प्रसारण हुने सम्भावना कम रहन्छ । कोरोना भाइरसको संक्रमण उच्चतम बिन्दुतर्फ गइरहेकाले जमघट र भीडभाड गर्दा स्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी  पुनले दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad