ad ad

छापा खबर


कोरोना नियन्त्रण गर्न एक लाख सुरक्षाकर्मी मैदानमा

कोरोना नियन्त्रण गर्न एक लाख सुरक्षाकर्मी मैदानमा

नेपालखबर
जेठ २१, २०७७ बुधबार ०:३८,

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि देशभर गरी करिब १ लाख सुरक्षाकर्मी परिचालित भएका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि मात्रै करिब १ लाखको संख्यामा जनशक्ति खटाइएको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)बाट प्राप्त तथ्यांकअनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीतर्फबाट प्रत्यक्ष रुपमा ४६ हजार ८ सय जनशक्ति खटाइएको छ। यसैगरी, ब्याक सपोर्टमा रहने गरी ९ हजार २ सय प्रहरी परिचालन गरिएको छ । उनीहरू सडकदेखि सीमासम्म खटिएका छन्।

यसैगरी, सशस्त्र प्रहरीतर्फबाट देशभर गरी ३१ हजार ५ सय जनशक्ति परिचालन गरिएको छ। जसमध्ये सीमा क्षेत्रमा मात्रै २२ हजार ५ सय जनशक्ति खटिएका छन्। अन्य जनशक्ति भने नेपाल प्रहरीसँगै ब्याक फोर्सका रुपमा खटाइएको छ।

यस्तै, नेपाली सेनातर्फबाट ७ हजार ६ सय ३० सैनिकलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रत्यक्ष रुपमा परिचालन गरिएको छ । हालसम्म क्वारेन्टिनको सुरक्षामा सेनातर्फबाट १ हजार ३ सय २८ जना सैनिक खटिएका छन् । यसैगरी, आइसोलेसन सुरक्षा, हेल्थ डेस्क र रेस्पोन्स टिममा समेत सेनाका जनशक्ति खटिएका छन्।

सेनाबाट २ हजार २ सय ९० जना स्वास्थ्यतर्फका डाक्टरसहितका जनशक्ति छुट्टै परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । उनका अनुसार सेनाबाट सडक पट्रोलिङका लागि समेत ८ सय २५ जना खटिएका छन्।

यस्तै, राष्ट्रिय अनुसन्धान विभागबाट समेत कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ हजार ९ सय ९७ जनाको जनशक्ति परिचालन गरिएको छ । उनीहरूले समेत ब्याक सपोर्टका रुपमा काम गरिरहेका छन् । विभागबाट खटिएकाहरू उपत्यकासहित सीमा नाकामा छन्।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरी प्रहरीतर्फबाट मात्रै सडकदेखि सीमासम्म करिब ५६ हजार सुरक्षाकर्मी परिचालित भएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .