सरकारले दर्ता गरेको संविधान संशोधनको विधेयकले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीबीचको दूरी झनै बढाउने देखिएको छ।
स्रोतका अनुसार समाजवादी संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने र राजपा विपक्षमा उभिने सम्भावना देखिएको हो। यसबाट दुई पार्टीको एकता झनै टाढिने देखिएको खबर आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारी र भुवन शर्माले लेखेका छन्।
शुक्रबार तत्कालीन राजपाका नेता महन्थ ठाकुरले संसद्मा छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोजेका थिए। उनलाई समाजवादीले साथ दिएन। आइतबार ठाकुरले संसद् सचिवालयमा छुट्टै प्रस्ताव दर्ता गर्ने कार्यक्रम रहेको राजपाका नेताहरू बताउँछन्।
यसमा समाजवादीलाई मनाउन राजपाका नेताहरूले शनिबार दिनभर प्रयास गरेका छन्। राजपाका नेताहरूले शनिबार समाजवादीका अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवसँग औपचारिक वार्ता गरेका छन्।
‘हामीले दर्ता गर्न लागेको संशोधन प्रस्तावमा मिलेर जान राजपा र समाजवादी पार्टीबीच कुराकानी भइरहेको छ तर कुराकानी टुंगिएको छैन,’ दुई अलगअलग पार्टीजस्तो गरी तत्कालीन राजपाका नेता राजेन्द्र महतोले भने, ‘वार्ता जारी छ।’
राजपा र समाजवादी दुवै पार्टीले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावमा आफ्ना अजेन्डाहरूलाई समेत समेटेर प्योकजमा ल्याउनुपर्ने अडान राख्दै आएका छन्।
सरकारले भने प्याकेजमा संशोधन प्रस्ताव नल्याउने, यसपटक संविधानको अनुसूची ३ लाई संशोधन गर्न मात्र संशोधन प्रस्ताव आउने बताएको छ। समाजवादी एक सांसद तथा पदाधिकारीले भने, ‘प्याकेजमा संशोधन प्रस्ताव ल्याउने हाम्रो तयारी हो तर पनि संशोधनको पक्षमा मतदात गर्ने करिबकरिब निश्चित छ।’
राजपा र समाजवादी दुवै पार्टीले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावमा आफ्ना अजेन्डाहरूलाई समेत समेटेर प्योकजमा ल्याउनुपर्ने अडान राख्दै आएका छन्।
राजपाका नेताहरू भने प्रस्टसँग आफूले उठाएको अजेन्डालाई सम्बोधन नगरी ल्याइएको संविधान संशोधन प्रस्तावलाई आफूहरूले समर्थन नगर्ने बताएका छन्। ‘प्याकेजमा संविधान संशोधन गरौं भन्ने हाम्रो प्रस्ताव हो। हाम्रो माग सम्बोधन नगरी ल्याइएको संविधान संशोधन प्रस्तावलाई हामी समर्थन गर्दैनौं,’ राजपाका महासचिव मनीष सुमनले भने।

प्रतिक्रिया