छापा खबर


युवतीले नै बोलाएर विवाहका लागि गएका थिए नवराज, तर दलित भन्दै गाउँलेले यसरी गरे हत्या

युवतीले नै बोलाएर विवाहका लागि गएका थिए नवराज, तर दलित भन्दै गाउँलेले यसरी गरे हत्या

नेपालखबर
जेठ १२, २०७७ सोमबार ०:४७,

जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज विक र रुकुमपश्चिमको चौरजहारीकी सुष्मा मल्लबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो।

यो विषय विस्तारै दुबैतिरका परिवारले थाहा पाए। केटीतर्फका परिवारले दलित केटासँगको प्रेम सम्बन्ध कुनै पनि हालतमा अघि बढ्न नसक्ने भन्दै पटक पटक चेतावनी दिँदै आएको थियो।

तर, गहिरो माया बसेपछि उनीहरु एकअर्काबिना बाँच्न नसक्ने भन्दै विवाह बन्धनमा बाँधिने निर्णयमा पुगे। केटाको घरमासमेत केटी आउजाउ गर्थिन्।

आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने सल्लाहबमोजिम सुष्माकै आग्रहमा नवराज साथीहरुसँग केटीको गाउँ सोती पुगे।

एक्लै गए खतरा हुने ठानेरै १८ जना साथी लिएर गएका नवराजलाई अन्नतः साथीहरुले पनि जोगाउन सकेनन्।

स्थानीयको आक्रमणमा नवराजसहित दुईजनाको मृत्यु भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा जाजरकोटबाट राजेन्द्र कार्कीले लेखेका छन्।

बेहुली लिन गएका जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको शव शुक्रबार बिहान भेरी नदी किनारमा भेटियो।

प्रेमिकाको आग्रहमा बेहुली लिन गएका नवराजसहितको टोलीमाथि वडाध्यक्ष डम्बरबहादुर मल्लसहित सोतीका गाउँलेले आक्रमण गरे। १२ जनालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए।

केटीका आमाबुवाले गाउँले बोलाएर आक्रमण गरी लखेटेर हत्या गरेको पीडित पक्षको भनाई छ।

घटनापछि चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुबा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्लसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भेरी ४ का गणेश विक, भेरी ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र चौरजहारी १ का टीकाराम सुनार वेपत्ता छन्। तीमध्ये एक जनाको शव फेला परेको छ।

नवराजसहितको युवा समूहलाई तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै स्थानीयले आक्रमण गरेको स्थानीयले बताएका छन्।

तर, केटी पक्षले केटीको उमेर नपुगेको र केटीले बिहेका लागि अस्वीकार गरे पनि जबर्जस्ती लान खोज्दा विवाद भएको दाबी गरेका छन्।

‘दुलही लिन गएको छोरा लाश बनेर आयो,’ बाबु मोहन विकले भने, ‘घटना सुनेदेखि आमा बेहोस् छिन्। पुलिसको जागिर खाएर बिहे गर्छु भन्थ्यो। पापीहरुले कलिलैमा हत्या गरिदिए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .