नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेको भन्दै भारतीय मिडिया अभिनेत्री मनिषा कोइरालाविरुद्ध खनिएको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णय गरेको ट्वीटलाई रिट्वीट गर्दै अभिनेत्री कोइरालाले सोमबार लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बचाइरहनु भएकोमा धन्यवाद। तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं।’
आजको नागरिक दैनिकमा प्रकाशित खबरका अनुसार उनको यो अभिव्यक्तिमा नेपाल र भारतको सीमा विवादमा नेपालको पक्ष लिएको भन्दै एबिपीले लेखेको थियो, ‘नेपालमा जन्मेकी अभिनेत्री मनिषा कोइरालाले नेपाल सरकारको समर्थन गरेकी छिन्। उनीहरुको सरकारले भारतको तीन क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको रहेको दाबी गरेको छ।’
भारतका मिडियाले उनलाई चीनको पक्ष लिएको भनेर पनि लेखेका छन्। उनीहरुले अभिनेत्री कोइरालालाई ‘भारतको खाएर चीनको गाएको’ भन्ने आरोपसमेत लगाएका छन्।
बलिउडलाई कर्मथलो बनाएकी अभिनेत्री कोइरालाको अभिव्यक्तिविरुद्ध भारतीय नागरिकहरु आक्रोशित भइरहँदा नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरु उनको पक्षमा उभिएका छन्।

प्रतिक्रिया