छापा खबर


कोरोना संक्रमणबाट ज्यान गुमाउने बाँकेका युवा मुम्बईबाट कहिले ट्रकमा कोचिएर र कति ठाउँमा हिँड्दै क्वारेन्टाइनसम्म पुगेका थिए

कोरोना संक्रमणबाट ज्यान गुमाउने बाँकेका युवा मुम्बईबाट कहिले ट्रकमा कोचिएर र कति ठाउँमा  हिँड्दै क्वारेन्टाइनसम्म पुगेका थिए

नेपालखबर
जेठ ५, २०७७ सोमबार १:५,

कोरोनाको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। आइतबार बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवाको मृत्यु भएको हो। शनिबार मात्रै सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट मृत्यु भएको थियो।

आइतबार मृत्यु भएका युवा ३० वैशाखमा भारतबाट फर्केका थिए। रोजगारीका लागि मुम्बई गएका उनी अरू ७० जनासँगै कहिले ट्रकमा कोचिएर त कहिले हिँड्दै घर फर्केका थिए। यो खबर आजको नयाँ पत्रिका दैनिकमा नेपालगञ्जबाट विश्वराज पछल्डङ्ग्याले लेखेका छन्।

अधिकांश नरैनापुरकै थिए । उनीहरू नेपाल–भारतको भगवानपुर नाका पुग्दा त्यहाँ अरू २० जना पनि थिए । ९० जना सबै सँगै नेपाल प्रवेश गरेका थिए।

वडा र घर पायक पर्ने गरी गाउँपालिकाले उनीहरूलाई छुट्टाछुट्टै क्वारेन्टाइनमा राख्ने योजना बनायो । मृतक युवालाई घरपायकको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा राखिएको थियो । आफ्ना साथीहरूसँग उनी एउटै कोठामा बसे ।

क्वारेन्टाइनमा आउँदा उनमा कुनै स्वास्थ्य समस्या देखिएको थिएन, कोरोनाको लक्षण पनि थिएन । तर, ३ जेठको बिहान २ः३० बजेदेखि उनलाई एकाएक उल्टी हुन थाल्यो । एकछिनमा बेहोस भएर ढले । उनका साथीले स्वास्थ्यकर्मीलाई खबर गर्न फोन गरे । तर, स्वास्थ्यकर्मीले फोन उठाएनन् । अन्ततः उपचार नपाएर बिहान करिब ३ बजे क्वारेन्टाइनमै देह त्याग गरे । उनको मृत्यु भएको तीन घन्टापछि मात्र स्वास्थ्यकर्मी क्वारेन्टाइनमा आइपुगे।

उनी बसेको क्वारेन्टाइनमा ६ जनामा कोरोना पुष्टि भएपछि शनिबार उनको पनि स्वाब संकलन गरेर परीक्षणका लागि भेरी अस्पताल पठाइएको थियो । तर, परीक्षणको रिपोर्ट नआउँदै उनको मृत्यु भयो।

भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाका अनुसार मृतक युवाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयले पनि आइतबार साँझ त्यसको पुष्टि गरेको छ । मृतकको आइतबार बेलुका इस्लाम धर्म अनुसार अन्तिम संस्कार गरिएको नरैनापुर स्वास्थ्य शाखा प्रमुख मोइन खानले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad