सरकारले विदेशमा रोजगारी गुमाएर फर्किएका युवालाई स्वदेशमै व्यवसाय गर्न सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ।
सङ्घीय संसद्मा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोनाका कारण रोजगारी गुमाएर फर्कने नेपालीलाई स्वदेशमै रोजगारीमा आबद्ध गर्न सुरुवाती पुँजी उपलब्ध गराउने बताएकी हुन्।
भण्डारीले विश्वव्यापी रूपमा कोभिड १९ महामारीका कारण बेरोजगारीको जोखिम रहेको र विदेशबाट रोजगारी गुमाएर फर्कनेलाई स्वरोजगार बनाउन सरकारले सुरुवाती पुँजी उपलब्ध गराउने गरी कार्यक्रम तय गरिएको जानकारी दिइन्।
यी युवालाई उद्यम व्यवसाय गर्न क्षमता विकास, प्रविधि हस्तान्त्तरण, वित्तीय पहुँच र बजारीकरणका कार्यक्रमसँग आबद्ध गराइने घोषणा गरिएको खबर आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन्।
राष्ट्रपति भण्डारीले सङ्घीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामाजिक संरक्षणसहितको श्रम व्यवस्थापनलाई सरकारको प्राथमिकतामा पारेको बताइन्।
‘पर्याप्त आन्तरिक रोजगारीको प्रबन्ध नभइसकेको अवस्थामा कोभिड १९ को विश्वव्यापी महामारीले गर्दा स्वदेशी रोजगारी सङ्कुचित हुनु र वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक फर्किने परिस्थितिले बेरोजगारीको सङ्ख्या बढ्ने देखिएकाले वैदेशिक रोजगारीबाट फर्किएकालाई कृषि उत्पादनमा आकर्षित गरिने छ,’ भण्डारीले भनिन्।
बेरोजगारको सम्भावित जनशक्तिलाई कृषि, भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना तथा मझौला उद्योगमा परिचालन गरिने पनि जनाइएको छ।
सरकारको नीति तथा कार्यक्रमले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई उत्पे्ररित गरी सामाजिक सुरक्षालाई दिगो बनाइने र अनौपचारिक क्षेत्रका श्रमिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा गएका श्रमिकलाई समेत चाहेमा यसमा आबद्ध गरिने विषयलाई पनि प्राथमिकता दिइएको छ।

प्रतिक्रिया