छापा खबर


भारतबाट १ लाख मजदुर नेपाल भित्रँदै, संक्रमण झन् बढ्ने संकेत

भारतबाट १ लाख मजदुर नेपाल भित्रँदै, संक्रमण झन् बढ्ने संकेत

नेपालखबर
जेठ १, २०७७ बिहिबार २:८,

भारत सरकारले लकडाउनकै बीचमा मंगलबारदेखि रेलसेवा सञ्चालन गरेलगत्तै भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका झन्डै १ लाख मजदुरले नेपाल भित्रने तयारी गरेका छन्।

सम्भवतः दुई–तीन साताभित्र उनीहरू नेपाल आउन सक्ने खबर आजको राजधानी दैनिकले छापेको छ।

उनीहरू नेपाल भित्रिएसँगै सरकारले बोर्डर क्षेत्रमा व्यवस्थित क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न नसकेमा नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुन सक्ने चिकित्सकले बताएका छन् । भारतले आफ्ना विभिन्न राज्यमा १५ वटा रेलसेवा सञ्चालनमा ल्याएको छ।

विशेषगरी, नेपाली मजदुर र आफ्नै देशका मजदुरलाई घर फर्काउन भारतले रेलसेवा सुरु गरेको हो । भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ।

नेपालका विभिन्न जिल्लाबाट भारतका उत्तर प्रदेश, विहार, उडिसा, गुजरात र महाराष्ट्रमा रोजगारीका लागि गएका नेपाली मजदुरले स्वदेश फर्कन लखनउ र नेपालनजिक पर्ने विभिन्न स्थानसम्मको टिकट बुकिङ गर्न थालेका छन्।

गुजरातको अन्दाबादमा रहेका नेपाली मूलका चिकित्सक डा.सागर विश्वकर्माका अनुसार भारतले केही समयका लागि रेलसेवा खुलाएलगत्तै धेरै नेपाली स्वदेश फर्कने तयारीमा छन्।

‘धेरै नेपालीले लखनउसम्मको टिकट बुकिङ गरिसकेका छन्। अबको दुई–तीन साताभित्र उनीहरू नेपाल आउने तयारीमा छन्,’ डा. विश्वकर्माले भने। उनका अनुसार ती नेपाली लखनउ र अन्य स्थानको टिकट काटेर जनकपुर, नेपालगन्ज र वीरगन्ज हुँदै नेपाल प्रवेश गर्ने तयारीमा छन्।

कोरोना भाइरससम्बन्धी अध्ययन गरिरहेका नेपाली चिकित्सक डा. रमेशकुमार आचार्यले भारतबाट तीन साताभित्रमा १ लाख मजदुर नेपाल भित्रने तयारी गरिरहेको बताए।

उनले स्वदेश फर्कन खोज्ने ती नेपाली मजदुरलाई सीमा क्षेत्रमा नै क्वारेन्टाइन र आइसोलेसन बनाएर व्यवस्थापन गर्न नसकिएमा नेपालमा संक्रमणको दर भयावह रूपमा बढ्ने बताए । अहिले नेपालमा कोरोना भाइरसको संक्रमण अत्यधिक रूपमा बढिरहेको छ । पछिल्लो समयमा भारतीय नाका क्षेत्रमा नै संक्रमण भएका व्यक्तिको संख्या बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad