छापा खबर


सचिवालय बैठकमा ओली आक्रोशित, स्थायी कमिटी बैठक अनिश्चित

सचिवालय बैठकमा ओली आक्रोशित, स्थायी कमिटी बैठक अनिश्चित

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार २:५९,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबारको सचिवालय बैठकमा ‘एक व्यक्ति एक जिम्मेवारी’ कार्यान्वयन गर्नुपर्ने विषयमा विवाद भएको छ।

स्थायी कमिटी बैठकका अजेन्डा तय गर्न सचिवालय बैठक बसेको हो। सचिवालय बैठकले अजेन्डा तय गर्न नसकेपछि स्थायी कमिटी बैठक पनि अनिश्चित बनेको खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

यसअघि शनिबार बसेको सचिवालय बैठकमा बिहीबार स्थायी कमिटी बैठक बोलाउने सहमति भएको थियो। ‘एक व्यक्ति एक जिम्मेवारी’ कार्यान्वयन गर्ने विषय स्थायी कमिटीको अजेन्डा बनाउनुपर्ने विषय उठेपछि सचिवालय बैठक कार्यसूचीमा प्रवेश नगरीकन टुंगिएको हो।

सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध अन्य नेताहरूले जथाभाबी बालेको र कोठे बैठक गरेको भन्दै असन्तुष्टि पोखेका थिए।

‘जब स्थायी कमिटी बैठकमा एक व्यक्ति एक जिम्मेवारी कार्यान्वयनको विषय अजेन्डा बन्नुपर्ने कुरा सचिवालय बैठकमा उठ्यो तब अध्यक्ष ओली आक्रोशित हुँदै उठेर हिँड्नु भयो’, स्रोतले भन्यो, ‘उहाँ सचिवालय बैठकको कार्यसूचीमै प्रवेश गर्न चाहनु भएन।’

बैठक सुरुमै ओलीले आफ्ना धारणा राखेका थिए। उनले सरकारको प्राथमिकतामा बजेट रहेको र संसद् अधिवेशन पनि बोलाइएकाले स्थायी कमिटी बैठक छोटो बनाउनुपर्ने बताएका थिए।

उनले तत्काल स्थायी कमिटी बैठक अनिवार्य पनि नभएको बताएपछि विवाद सुरु भएको थियो। बैठकमा ओलीले आफूविरुद्ध कहिले खुमलटार, कहिले कोटेश्वर त कहिले हात्तीवनमा बैठक गरिएको र यस्तो कार्य पार्टी अनुशासनविपरीत भएको बताएपछि भनाभन जस्तै भएको स्रोतको दाबी छ।

‘उहाँले आफूविरुद्ध भेला भएर बैठक गर्ने भनेपछि हामीले पनि भेटघाट गर्ने विषय नौलो होइन। छलफल गर्ने विषयमा तपाईंले आपत्ति जनाउन पाउनु हुन्न। यहाँ पनि कतिपय सन्दर्भमा तपाईंले भेटिरहनु भएको छ भन्यौं। उहाँ अलि आक्रोशित हुनुभयो, भनाभन जस्तो भएपछि बैठक कक्षबाट निस्कनु भयो’, स्रोतले भन्यो।

स्थायी कमिटी बैठकको कार्यसूची र एक व्यक्ति एक जिम्मेवारीको विषयमा छलफल हुने क्रममा ओली बैठक कक्षबाट निस्किएका थिए। उनी बाहिरिए पनि बैठक चलेको थियो। बैठक कक्षबाट निस्किएको ४५ मिनेटपछि फेरि प्रवेश गरेका ओलीले कार्यसूचीमा छलफल गर्नुपर्ने भएकाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग समय मागेका थिए।

‘स्थायी कमिटी बैठकका अजेन्डा तय गर्न बुधबार बोलाइएको सचिवालय बैठकमा विवाद भयो। अजेन्डा तय हुन नसकेपछि बिहीबार बस्ने भनिएको स्थायी किमिटी बैठक पनि अनिश्चित भएको छ’, स्रोतले भन्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad