ad ad

छापा खबर


घर हिँडेका मजदुर दुई दिनदेखि बालकुमारीमा गाडीभित्रै अलपत्र

घर हिँडेका मजदुर दुई दिनदेखि बालकुमारीमा गाडीभित्रै अलपत्र

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार ३:११,

लकडाउन लम्बिँदै जाँदा काठमाडौंमा खान-बस्न समस्या भएपछि घर जान निस्किएका पूर्वका ५० नागरिक दुई दिनदेखि ललितपुरको बालकुमारीमा गाडीभित्रै अलपत्र परेका छन्।

उपत्यकाका विभिन्न क्षेत्रबाट घन्टौँ हिँडेर बालकुमारीमा जम्मा भएका उनीहरू प्रहरीले गाडी छुट्न नदिएपछि बिलखबन्धमा परेका खबर आजको नयाँ पत्रिका दैनिकमा किरण दाहालले लेखेका छन्।

उदयपुरको बेलका नगरपालिकाले पास दिएर पठाएको गाडी मंगलबार साँझ काठमाडौंबाट यात्रु लैजाने योजनामा थियो । सूचनाअनुसार विभिन्न जिल्लाका यात्रु बालकुमारीमा जम्मा भए । तर, प्रहरीले रोकिदिएपछि बुधबार रातिसम्म वृद्धवृद्धादेखि बालबालिकासम्म भोकभोकै गाडीभित्रै छन्।

गठ्ठाघर बस्ने भोजपुरकी शान्ता तामाङ उदयपुरसम्म गाडी जान्छ भन्ने थाहा पाएपछि मंगलबार बिहानै बालकुमारी पुगेकी थिइन् । चतरासम्म गाडीमा जान पाए त्यहाँबाट हिँडेर घर पुग्ने हिसाब उनको थियो ।

तर, प्रहरीले रोकेपछि दुई दिनदेखि शान्ता गाडीभित्रै छिन् । ‘गाडीमै बसेको दुई दिन भयो, खाने–पिउने केही छैन,’ उनले भनिन्, ‘रातभर मच्छडले टोकेर हैरान पार्‍यो।’

शान्ताका श्रीमान् ज्यामी काम गर्थे । ६ हजारमा दुई कोठा भाडामा लिएर बसेका थिए । तर, लकडाउनपछि काम बन्द भयो । हप्ता बित्यो, महिना बित्यो, कोठामा चामल, ग्यास, नुन, भुटन सबै सकिन थाल्यो ।

काखमा एक वर्षको बच्चा भएका उनीहरू अनिश्चित लकडाउन खुल्ने बाटो हेरेर पार नलाग्ने निष्कर्षमा पुगे । अनि गाउँतिर पाइला सोझ्याएका हुन् ।

‘आफू त जेनतेन बाँचिएला । यो नानीलाइै के खुवाउने मैले? मेरो दूध आउँदैन, पैसा हुँदा त ल्याक्टोजिन खुवाउँथ्यौँ,’ शान्ताले पीडा पोखिन्, ‘आज पनि बिहानदेखि केही खान पाएको छैन । झन् अलपत्र पो परियो । घर जान पाइएन भने त मेरो नानीलाई के खुवाएर बचाउनु?’

शान्तासँगै बालकुमारीमा गाडीभित्र अलपत्र पर्नेहरू झापा, उदयपुर र भोजपुरकै बढी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .