छापा खबर


निको हुन थाले कोरोना संक्रमित, धमाधम घर फर्किंदै

निको हुन थाले कोरोना संक्रमित, धमाधम घर फर्किंदै

नेपालखबर
बैशाख ८, २०७७ सोमबार १:३५,

कोरोना भाइरस (कोभिड-१९) संक्रमितहरू निको भएर धमाधम घर फर्किन थालेका छन्।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भएका चार जना निको भएर घर फर्किसकेका छन् । पछिल्ला दुई दिनमा घर फर्किनेको संख्या तीन रहेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई, धौलागिरी अस्पतालका एक र सेती प्रादेशिक अस्पताल धनगढीबाट दुई जना निको भएर घर फर्किएका हुन्। तीमध्ये दुई पुरुष र दुई महिला छन्।

पछिल्लोपटक सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ३६ वर्षीय राज विक १६ दिनको अस्पताल बसाइपछि आइतबार डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेको संख्या चार पुगेको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

हालसम्म पहिलो, दोस्रो, छैटौं र नवौं संक्रमित निको भएर घर फर्किएका हुन् । अन्य २७ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका २१ वर्षीय युवा कोरोना जितेर घर फर्किएका हुन् । २२ चैतमा कोरोना पोजेटिभ देखिएपछि उनी सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए।

यसअघि शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट १९ वर्षीया प्रसिद्धि श्रेष्ठ र धौलागिरी अस्पतालबाट ६५ वर्षीया मनकुमारी पौडेल डिस्चार्ज भइसकेका छन्।

चीनको वुहान सहरबाट नेपाल फर्किएका ३२ वर्षीय पुरुष सरुवा रोग अस्पतालबाट गत माघ तेस्रो साता पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका थिए।

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १, पाटन अस्पतालमा २, भरतपुर अस्पतालमा २, बागलुङमा १, धनगढीमा र वीरगन्जमा ४–४ र विराटनगरमा १३ जना संक्रमितको उपचार भइरहेको जानकारी प्रवक्ता डा.देवकोटाले दिए।

यस्तै, कोरोना भाइरस संक्रमणको आशंकामा देशभर ५ हजार १ सय ८० जना क्वारेन्टाइनमा बस्दै आएका छन् । संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेकाहरूको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किने क्रम सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad